प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोजेः एमाले

316 Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरुले शिक्षक आन्दोलनलाई राजनीति प्रभावमा पार्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोजेको उहाँको आरोप छ । उहाँले प्रतिपक्षी दलहरुले आन्दोलनलाई पवित्र पेशागत हितभन्दा बाहिर लगेर राजनीतिक स्वार्थ पूर्तिको औजार बनाउने प्रयास गरिरहेको आरोप लगाउनु भयो । सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न तयार रहेको र शिक्षण गतिविधि नियमित बनाउन सकारात्मक प्रयास भइरहेको उहाँको दाबी छ ।

सरकार शिक्षकका जायज मागहरु पूरा गर्न गम्भिर रहेको उल्लेख गर्दै उहाँले वार्ता प्रक्रियामा व्यवधान नपुर्याउनसमेत विपक्षी दलहरुलाई आग्रह गर्नुभयो । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचिमा नराखिएको भन्दै प्रतिपक्षी दलहरुले आपत्ति जनाएका थिए ।