भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैनः बाबुराम भट्टराई

326 Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ । 

भारत भ्रमण सकेर स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको बताउनु भयो । उहाँले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले बिरोध गरिरहेको आरोप लगाउनु भयो । नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताउँदै उहाँले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताउनु भयो । 

नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरु समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताउनु भयो । नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताउँदै इपिजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महशुस गरेको उहाँको भनाइ छ । 

अध्यक्ष भट्टराईले छिमेकीहरुसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताउनु भयो । प्रतिगामी शक्तिहरुले वितण्डा मच्चाए भन्दैमा फेरि निराश हुनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । आत्मबल बढाएर संघीय लोकतान्त्रिक गणतन्त्र बचाउँदै अघि बढ्नु नै श्रेयस्कर हुने बताउनु भयो ।