काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । पाण्डेले शिक्षकहरू सडकमा आन्दोलनरत हुँदा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल गर्न सोमबारदेखि अनुरोध गर्दा पनि सरकारले नसुनेको आरोप लगाउनु भयो ।
सार्वजनिक महत्वको प्रश्तावमाथि छलफल गर्न प्रतिपक्षीहरूले उठेर माग राखे पनि सरकारले बेवास्ता गरेको बताउँदै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, परीक्षा र विद्यार्थी भर्ना लगायतका महत्वपूर्ण कुराहरूमाथि संसदमा छलफल गरेर निकास निकालौँ भन्दा सरकारले वास्ता नगरेको जिकिर गर्नुभयो । उहाँले दिनदिनै संसद्को कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको भन्दै यसरी संसद् प्रभावकारी नहुने समेत धारणा राख्नुभयो ।
उहाँले सरकारको गैरजिम्मेवारपनप्रति आ–आफ्नो ठाउँबाट आवाज उठाउन अभिभावक, विद्यार्थी र आम जनसमुदायलाई आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया