काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ।
मंगलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गर्नुभएको हो । सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताउनु भयो ।
उहाँले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तर्क्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काँग्रेसको विपन्न उत्थान समन्वय विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर सबै विषयवस्तुहरूलाई समेटेर प्रतिवेदन पेस गरेकोमा विभागका प्रमुखसहित सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले पार्टीका विभिन्न विभागबाट प्राप्त हुने सुझावहरूलाई ध्यानमा राखेर नेपालको अर्थतन्त्रले भ्याएसम्म कामहरू अगाडि बढाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया