चालु आर्थिक वर्षको चैतसम्म तीन अर्ब सन्ताउन्न करोडको चिया निर्यात

363 Shares

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात गरिएको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्ष चियाको निर्यात चार अर्ब ५० करोड  हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ। बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर कुल २० हजार ७६० हेक्टर जमिनमा चियारोपण गरिएको थियो । त्यस अवधिमा दुई करोड ७० लाख किलोग्राम तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषकहरू छन् । 

अधिकृत पुरीले अघिल्लो आवमा तीन अर्ब ६३ करोड बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात गरेको जानकारी दिए । यसैबीच २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा बोर्डले सोमबार पुल्चोकस्थित हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ। नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बोर्डले जनाएको छ ।

त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डका अधिकृत पुरीले जानकारी दिए । यसवर्ष ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ दिवस आयोजना हुँदैछ ।रासस