अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको छः कामु गभर्नर ढुङ्गाना

351 Shares

काठमाडाैं । कायममुकायम गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको बताउनुभएको छ।

नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुद्रास्फीतिमा सुधार आएको, कुल विदेशी संचितीसमेत पर्याप्त रहेको, निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा गैरसम्पत्ती बढ्दै गएपनि बैंकहरु कर्जा प्रवाह बढेको बताउँदै उहाँले लगानीलाई वातावरणमैत्री बनाउन नियामकीय सहुलियत दिइएको बताउनु भयो । उहाँले भुक्तानी प्रणालीको सुरक्षाका राष्ट्र बैंकले काम गरेको, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु प्रभावकारीरुपमा अघि बढाइएको बताउनु भयो ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरीक, वाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिएपनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरुको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताउनु भयो । उहाँले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी सञ्चिती वचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको बताउनु भयो ।

उहाँले समस्या, चुनौतीलाई समाधान गर्न सकिने बताउनु भयो । राष्ट्र बैंकको कार्य क्षेत्रमा पर्ने ती समस्यालाई पहिचान गर्दै हल गरिने उहाँको भनाइ छ । राष्ट्र बैंकले वित्तीय साक्षरतालाई जोड दिएको बताउँदै मिश्रले राष्ट्र बैंकको पहल प्रभावकारी बन्दै गएको समेत बताउनु भयो । 
राष्ट्र बैंकले वार्षिक उत्सवको अवसरमा अर्थविद् तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीलाई सम्मानसमेत गरेको छ । कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षत्रीले सस्तो लोकप्रियताका लागि कतिपय वित्त नीतिहरु शासकहरुले लिने भएकाले त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कर्जा तिर्नुपर्दैन भनेर प्रचार हुने गरेको भन्दै त्यसलाई राष्ट्र बैंकले चिर्न जरुरी रहेको बताउनु भयो ।

बदलिँदो परिस्थितीमा ऐन कानूनसम्मत समयमै राष्ट्र बैंकले आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीलाई अवलम्वन गर्न सक्नुपर्छ । मुलुक सम्पत्ती शुद्धिकरणको मामिलामा खैरो सूचीमा परेकाले कार्ययोजना बनाएर बाहिर निस्कन राष्ट्र बैंकलले पहल गर्नुपर्ने उहाँको भनाइ छ । 
सुनको बढी कारोबार गर्ने देश भारत रहेकाले नेपाल हुँदै भारत तस्कारी हुने खतरा रहेकाले राष्ट्र बैंक चनाखो हुनुपर्ने उहाँले बताउनु भयो । 

व्यवहारिक नीतिमार्फत लगानी बढाएर मुलुकभित्र रोजगारी सिर्जना गर्नुपर्ने क्षेत्रीले बताउनु भयो । कार्यक्रममा नयाँ गभर्नर नियुक्ति पेचिलो बनेको र स्वायत्ततामाथि आँच आउने काम भएको भन्दै राष्ट्र बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरुले छिटो गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका छन्।