काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले देशलाई समृद्धिको बाटोमा अघि बढाउने युवा शक्तिले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
बिहीवाबार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यतिबेला असल र सक्षम युवा देशका लागि आवश्यक भएको बताउनु भयो । देश निर्माणका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने सोच त्यागेर युवा पुस्ताले जुन पेशा वा व्यवसायमा छ त्यसैमा राम्रो काम गरेर योगदान दिनुपर्ने बताउनु भयो । सबै युवामा केही न केही सोच र क्षमता भएको भन्दै इमान्दार र जिम्मेवार भएर क्षमता प्रदर्शन गर्नपर्नेमा जोड दिँदै उहाँले कुनैपनि काम गर्दा आइपर्ने समस्यालाई हार नखाइ निरन्तर अगाडि बढ्दा सफल भइने बताउनु भयो ।
नेकपा एमाले असल पार्टी भएकाले युवा पुस्तालाई सामाजिक सञ्जालमार्फत असल कामको प्रचारप्रसार गर्न सिकाइरहेको बताउनु भयो । युवा शक्तिमा देशका लागि सकारात्मक काम गर्ने हुटहुटी हुनुपर्ने उहाँको भनाइ छ । उपमेयर डङ्गोलले आफू युथ ग्लोवल लिडरको रुपमा चयन भएर विश्वमा नेपालको नाम उच्च राख्न सफल भएको बताउनु भयो । उहाँले आफ्नो सफलता आफ्नो लागि मात्रै नभएर राष्ट्र र सम्पूर्ण युवा शक्तिका लागि भएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया