संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्चले डिल गरिरहेको छः महामन्त्री थापा

365 Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तँलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाउनु भयो । आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दासमेत नियुक्तिको परीक्षण नभएको उहाँको भनाइ छ । 

अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्ने प्रश्न गर्दै उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको बताउनु भयो । अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको बताउँदै उहाँले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ । 

उहाँले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताउनु भयो । चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गर्दै उहाँले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँग पनि सम्झौता नगरिने स्पष्ट पार्नुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै काँग्रेसबाट राष्ट्रपति हुने मान्छेलाई पार्टीमा नफर्काइने बताउनु भयो । उहाँले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताउनु भयो ।