पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु

201 Shares

काठमाडाैं । पाथिभरा (मुकुम्लुङ) मा केबलकार निर्माण गर्नु हुँदैन भनेर आवाज उठाइरहेका ‘पहिचानका लागि युवा’ संस्थाले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार हुनुपर्ने बताएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरु विकास बिरोधी नरहेको भन्दै समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताउनु भयो । उहाँले आन्दोलनरत समूहहरुसँग सरकारले वार्ता नगरी पेल्ने काम गरिरहेको गुनासो गर्नुभयो ।

विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि सरकारले बेवास्ता गरेको बताउँदै उहाँले समस्या समाधानका लागि ध्यानाकर्षण होस् भनेर काठमाडौंमा पत्रकार सम्मेलन गरिएको बताउनु भयो । आन्दोलनरत समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरे वार्ता र संवादबाटै समस्याको समाधान निस्किने उहाँको भनाइ छ ।

लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको अस्तित्व र पहिचानसँग जोडिएको धरोहर भएकाले केवलकार निर्माण गर्दा पहिचान नगुम्ने ग्यारेन्टी हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो माग सम्बोधनका लागि विगत सात वर्षदेखि विभिन्न आन्दोलनमार्फत ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको बताउनु भयो । विश्वका जुनसुकै युद्ध, क्रान्ति वा राजनीतिक आन्दोलन वार्ता र सम्बादबाटै समस्या समाधान भएको भन्दै उहाँले केवलकार निर्माणको विषय पनि सम्बादबाटै हल हुने बताउनु भयो । विकासको मोडलबारे स्थानीयस्तरमा छलफल र बहस हुनुपर्ने उहाँको भनाइ छ ।

पहिचानका लागि युवाका केन्द्रिय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचानसँग जोडिएका सभ्यताको अस्तित्व रक्षाका लागि राज्यसँग लडाईं भइरहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले दिएको अधिकार सदुपयोग गरी आफूहरुले जनताको भावना जोडिएको संस्कृति रक्षाका लागि आन्दोलन गरेको बताउनु भयो ।  

संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण गर्नुपर्ने जनाएको छ । राज्यले दमन कायम जारी राख्ने तथा केवलकार निर्माण कम्पनीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने हो भने आन्दोलनलाई तेस्रो जनआन्दोलनको रुपमा अघि बढाइने चेतावनी दिएको छ ।