काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्कारूपमा नलिन सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनु भयो ।
शिक्षकका माग सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले नै शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने काम गर्नु लाजमर्दो भएको बताउँदै उहाँले देशभरका लाखौँ शिक्षक र विद्यालयहरू सङ्कटमा रहँदा पनि सरकारले त्यसको सम्बोधनमा तत्परता र सक्रियता नदेखाउनु दुःखद् भएको बताउनु भयो ।
अध्यक्ष दाहालले शिक्षकहरूलाई अपमान गर्न बन्द गरेर तुरुन्तै घनिभुत तरिकाले वार्ता संवाद गरेर हल गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा धेरै मिहेनत गरेर विधेयकलाई सदनमा पुर्याएको बताउँदै उपसमितिमा छलफलमा रहेको विधेयकलाई टुङ्ग्याउन सरकारको खबरदारीसमेत गर्नुभयो ।
उहाँले शिक्षकहरूसहित चिकित्सकहरू, नर्सहरू, लघुवित्त पीडितहरू महिनौँदेखि सडक आन्दोलनमा उत्रिएको बताउँदै उनीहरूका मागलाई तत्काल सम्बोधन नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया