बजेट अभावकै कारण धेरै ठाउँमा शुद्ध खानेपानी पुर्याउन सकिएनः मन्त्री यादव

398 Shares

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिटै समाधान गर्ने बताउनुभएको छ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली र मधेस प्रदेशको खानेपानीको समस्या प्रमुख प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

खानेपानी मन्त्रालयमा अपेक्षितरुपमा बजेट नआएकै कारण धेरै ठाउँमा शुद्ध खोनपानी पुर्याउन नसकेको उहाँको भनाइ छ । उहाँले खानेपानीको क्षेत्रमा नागरिकको ३० प्रतिशत लगानी रहने प्रावधान अन्त्य गर्न लागिरहेको उल्लेख गर्दै यही हप्ताभित्र निर्णय गरिसक्ने बताउनु भयो । खानेपानीको आयोजनामा संघीय सरकारको ८५ प्रतिशत तथा प्रदेश र स्थानीय सरकारको १५ प्रतिशत लगानी रहने व्यवस्था गर्न लागिएको उहाँले बताउनु भयो । 

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्तिको व्यवस्था मिलाइने समेत बताउँदै उहाँले असार महिनापछि रोकिँदै आएको मेलम्ची आयोजना वर्षभरी नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  आगामी आर्थिक वर्षको बजेट सिलिङ घटेर आएको जानकारी दिँदै उहाँले अहिलेसम्म ९८ प्रतिशत नागरिकका लागि आधारभुत खानेपानीको पहुँच पुगिसकेको दाबीसमेत गर्नुभयो । 

बैठकमा बोल्ने अधिकांश सांसदहरुले मधेश र कर्णाली प्रदेशमा खानेपानीको व्यापक समस्या रहेको भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयको कार्यप्रगति र आगामी आर्थिक वर्षको बजेटको तयारीको तयारीका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको हो ।