काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक पुनः प्रभावित भएको छ। संसद् बैठकमा नाराबाजी र विरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ।
दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब दुई घण्टा ढिलो गरी ३ बजे सुरु भएको थियो। बैठक प्रारम्भ भएपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो। सांसदहरूले सरकार र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो अडान प्रस्तुत गरेका थिए।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हालै संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्दै आएका छन्। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने आशय व्यक्त गरेको भन्दै विपक्षीहरूले त्यसको प्रमाण पेश गर्न वा प्रमाण नभए सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान लिएका छन्।
मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले सोही माग दोहोर्याएका थिए। सभामुखले संसद्को कार्यसूची अगाडि बढाउने प्रयास गरे पनि विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक सञ्चालन गर्न कठिन भएको थियो।
अन्ततः लगातारको अवरोधपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गर्नुभएको हो।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, संसद्को नियमित कार्यसूची अगाडि बढाउने तथा अन्य संसदीय कार्यसमेत गर्ने कार्यक्रम तय गरिएको थियो। तर विपक्षी दलहरूको अवरोधका कारण ती कार्यसूचीहरू अघि बढ्न सकेनन्।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा जारी विवादले संसदीय गतिविधिमा समेत प्रभाव पारेको छ। विपक्षी दलहरूले आफ्नो माग पूरा नभएसम्म विरोध जारी राख्ने संकेत दिएका छन् भने सरकारतर्फबाट यस विषयमा थप स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया