रास्वपा सभापति लामिछानेले भारत समक्ष राखे काठमाडौँ-बेंङलुरु डिजिटल करिडोरको प्रस्ताव

13 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबिचको सम्बन्धलाई प्रविधि र आर्थिक साझेदारीको नयाँ युगमा लैजान काठमाडौँ-बेंगलुरु डिजिटल करिडोरको प्रस्ताव गरेका छन् ।भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित एक लेखमार्फत लामिछानेले दुई देशबिचको सम्बन्धलाई भू-राजनीतिक तनावबाट मुक्त गरी विकास कूटनीतिमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भारतका आन्ध्र प्रदेश र तेलङ्गाना जस्ता राज्यले सूचना प्रविधि (आईटी) को क्षेत्रमा गरेको अभूतपूर्व विकासबाट प्रेरणा लिँदै नेपाल र भारतलाई डिजिटल रूपमा जोड्नुपर्ने भिजन प्रस्तुत गरेका छन् । सभापति लामिछानेले भारतका प्रतिष्ठित सूचना प्रविधि इन्टिच्युट तथा कम्पनी र स्टार्टअप इकोसिस्टमलाई नेपालसँग साझेदारी गर्न आह्वान गरेका छन् ।

पाँच दिने भारत भ्रमणमा रहेका उनले नेपालमा इनोभेसन ल्याब, इन्क्युबेसन सेन्टर र टेक हबहरू स्थापना गर्न समेत प्रस्ताव गरेका छन् । नेपालको प्रतिभाशाली युवा पुस्ता, प्रचुर मात्रामा रहेको स्वच्छ ऊर्जा र बढ्दो डिजिटल इकोसिस्टममा भारतीय प्रविधि क्षेत्रको सानो सहयोगले ठुलो रूपान्तरण ल्याउन सक्ने उनको विश्वास छ ।

लेखमा लामिछानेले डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्महरूमा सहकार्यको आवश्यकता औँल्याएका छन् । यस्तो सहकार्यले दुवै देशका साना उद्यमीहरूलाई सशक्त बनाउने उनको तर्क छ । व्यापार र पारवहनलाई आधुनिक बनाउन उनले डिजिटल प्रविधिमा आधारित एकीकृत जाँच चौकी (आईसीपी) र एड्भान्स ट्रान्जिट करिडोरको विकास गर्नुपर्ने बताएका छन् । जसले सीमाका प्रशासनिक झन्झटहरूलाई हटाएर सहज आवागमन सुनिश्चित गर्नेछ ।

नेपालको शैक्षिक र प्राविधिक क्षमता अभिवृद्धि गर्न लामिछानेले भारतका विश्वप्रसिद्ध संस्थाहरू आईआईटी र एम्सलाई नेपालमा स्थापना गर्न वा आफ्ना शाखाहरू खोल्न आग्रह गरेका छन् । यसले नेपालको आईटी शिक्षा र स्वास्थ्य प्रविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तन र युवा पुस्ताको उदयलाई मतपेटी क्रान्तिको संज्ञा दिँदै लामिछानेले सन् २०२६ को यो समय नेपाल-भारत सम्बन्धलाई रिसेट गर्ने ऐतिहासिक अवसर भएको बताएका छन् । उनले अबको कुटनीति केवल राजनीतिक छलफलमा मात्र सीमित नभई डिजिटल कनेक्टिभिटी, लगानी र प्रविधि हस्तान्तरणको इन्जिन बन्नुपर्ने उल्लेख गरेका छन् ।

उनले विगतको राजनीतिक बोझ र संशयलाई त्यागेर पारदर्शी एजेन्डा र इमानदारीका साथ प्रविधिमा आधारित समृद्ध भविष्यका लागि हात मिलाउन भारतलाई आह्वान गरेका छन् ।