काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिले सीमा समस्याबारे थप गम्भीर छलफल र कूटनीतिक पहलको आवश्यकता उजागर गरेको जनाएको छ ।
मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दशगजा क्षेत्रमा दुवैतर्फबाट भूउपयोगका विषयहरू उठ्दै आएको उल्लेख गर्दै यसले सीमा व्यवस्थापन र समाधानको बहसलाई अझ बलियो बनाएको बताए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सीमा विवाद समाधानका लागि कूटनीतिक पहललाई तीव्र बनाउनुपर्ने सन्देशका रूपमा व्याख्या गरे ।
‘दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएका विषयहरू छन्,’ बुर्लाकोटीले भने, ‘त्यसलाई के शब्दले परिभाषित गर्ने भन्ने अर्को विषय हो । तर यसले सीमा सम्बन्धी विषयलाई थप गम्भीर रूपमा छलफल गरेर समाधानतर्फ लैजानुपर्ने आवश्यकता देखाएको छ ।’
उनले रास्वपाको अडान पहिलेदेखि नै मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने रहेको स्पष्ट पारे । त्यसका लागि कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने पार्टीको धारणा यथावत रहेको उनको भनाइ थियो ।
बुर्लाकोटीले प्रधानमन्त्रीले उपयुक्त समयमा आफ्नो धारणा स्पष्ट पार्ने विश्वास व्यक्त गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध गर्नु उचित नभएको बताए ।
उनले सीमा सम्बन्धी विषयमा सरकार र प्रतिपक्षबीच संवाद भइरहेको जानकारी दिँदै संसद सञ्चालन र बजेट प्रक्रियालाई अवरुद्ध नगर्न आग्रह गरे ।
‘सरकारको तर्फबाट आवश्यक जवाफ आउँछ,’ उनले भने, ‘तर बजेटजस्ता महत्वपूर्ण विषय प्रभावित हुने गरी संसद अवरुद्ध गर्नु उपयुक्त हुँदैन ।’
महामन्त्री बुर्लाकोटीले राष्ट्रिय हितका विषयमा संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया