पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले माग्यो थप ५ दिन समय

53 Shares

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित विषयमा छानबिन गर्न गठित समितिले सरकारसँग थप पाँच दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जनाउँदै समितिले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरी समय थपको अनुरोध गरेको हो।

सरकारले गत वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्।

समितिलाई प्रारम्भिक रूपमा १५ दिनको समयसीमा तोकिएको थियो। सो अवधिमा समितिले आवश्यक कागजात संकलन, सम्बन्धित पक्षसँग सोधपुछ तथा पूर्वगृहमन्त्री गुरुङसँग बयान लिने कार्य सम्पन्न गरिसकेको जनाएको छ। हाल प्रतिवेदन तयार गर्ने प्रक्रिया जारी रहेकाले थप समय आवश्यक परेको समितिको भनाइ छ।

समितिले व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणमा पूर्वगृहमन्त्री गुरुङको नाम जोडिएको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त विषय सार्वजनिक भएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा व्यापक चर्चा भएको थियो।

व्यवसायी भट्टको कम्पनीसँग आफ्नो नाम जोडिएपछि पूर्वगृहमन्त्री गुरुङले गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न स्वतन्त्र समिति गठन गरेको थियो।

समितिले थप समय पाएपछि प्रतिवेदनलाई अन्तिम रूप दिएर सरकारसमक्ष बुझाउने तयारी गरेको जनाएको छ। अब समितिको निष्कर्ष र सिफारिसले उक्त प्रकरणबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।