भोटेकोशी बाढी प्रभावित आयोजना पुनर्निर्माणमा नीतिगत सहजीकरण गर्न इप्पानको माग

49 Shares

भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि सरकारले आर्थिक सहयोगभन्दा पनि नीतिगत, कानुनी तथा प्रशासनिक सहजीकरण गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । भोटेकोशी प्रलयबाट प्रभावित १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका आयोजना छन् ।

ती आयोजनाको शतप्रतिशत बीमा भएकाले पुनर्निर्माण सम्भव रहेको भन्दै उहाँले सरकारले पुनर्निर्माण प्रक्रियामा देखिने जटिलता हटाउनुपर्ने बताउनुभयो । इप्पानले प्रभावित आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण समेटेर सरकारलाई विस्तृत प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिवेदनमा आयोजनाको अनुमतिपत्र अवधि विद्युत् ऐन, २०४९ अनुसार ५० वर्ष कायम गर्नुपर्ने मागसमेत गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेका तथा सञ्चालनको तयारीमा रहेका आयोजनासमेत पुनर्निर्माणमा जानुपर्ने अवस्था आएकाले थप समय आवश्यक रहेको डाँगीको भनाइ छ ।

सुरुमा विपद्का कारण ऊर्जा उत्पादकमा निराशा देखिए पनि अहिले निजी क्षेत्र पुनर्निर्माणका लागि उत्साहित छ । हजारौँ वर्षमा एकपटक हुने प्राकृतिक विपद्लाई आधार बनाएर नेपालको जलविद्युत् स्रोतको उपयोग नै रोक्न नहुने उहाँले बताउनुभयो ।

डाँगीले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ । लेटर अफ इन्टेन्ट (एलओआई) पाएका कम्पनीमध्ये आवश्यक योग्यता पूरा गरेका कम्पनीलाई दुई वर्षसम्म कुर्न नलगाई विद्युत् व्यापारको लाइसेन्स दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले सरकार–सरकार (जीटुजी) माध्यमसँगै व्यवसायी–व्यवसायी (बीटुबी) माध्यमबाट पनि विद्युत् व्यापार अघि बढाउनुपर्ने बताउनुभयो । निजी क्षेत्रबीच विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्ने वातावरण बनेमा विद्युत् व्यापारको दायरा विस्तार हुनुका साथै सरकारी निकायमाथिको जिम्मेवारीसमेत बाँडिने उहाँको भनाइ छ ।