काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल र भारतबीचको आपसी सम्बन्ध, पारस्परिक सद्भाव तथा दुई देशबीच रहँदै आएको मित्रवत् सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुर्मूसँग भएको भेटलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध र आपसी समझदारी अभिवृद्धिसँग जोडेर हेरिएको छ ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा जनस्तरको निकट सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाहको भ्रमणका क्रममा विभिन्न तहमा छलफल तथा भेटवार्ता भइरहेका छन् ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गरेका थिए । उक्त भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै देशबीचको विकास साझेदारी, आर्थिक सहकार्य, पूर्वाधार, हवाई सम्पर्क तथा साझा समृद्धिका विषयमा धारणा सार्वजनिक गरिएको थियो ।
प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्यका नयाँ सम्भावना अघि बढाउने अवसरका रूपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया