हेटौँडा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले प्रशासनलाई विवरण टिपाएका हुन् ।
सम्पर्कविहीन भनिएकामध्ये केही व्यक्ति आफन्तको सम्पर्कमा आउन थालेको उहाँले जानकारी दिनुभयो । प्रारम्भिक विवरणअनुसार सम्पर्क हुन नसकेकामध्ये गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा भ्रमणका लागि पुगेका, बाढी प्रभावित क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसा–व्यवसायमा संलग्न व्यक्ति छन् ।
प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले विवरणमा समावेश सबै व्यक्तिको अवस्था यकिन भइनसकेको प्रजिअ अधिकारीले बताउनुभयो । मोबाइल फोन बन्द भएको, बाढीले बगाएको वा नेटवर्कमा समस्या आएका कारण पनि परिवारसँग सम्पर्क टुटेको हुनसक्ने उहाँको भनाइ छ ।
“आफन्त सम्पर्कमा नरहेको भन्दै फोनमार्फत विवरण टिपाउने क्रम जारी छ । तर पछि सम्पर्कमा आएका व्यक्तिका बारेमा पुनः जानकारी नगराएकाले यकिन तथ्याङ्क निकाल्न कठिन भएको छ,” उहाँले भन्नुभयो । प्रशासनले प्राप्त विवरणका आधारमा बाढी प्रभावित क्षेत्रका प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया