काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका ३ जना सांसदमाथि पार्टीले गरेको कारबाहीको पत्र नक्कली रहेको टिप्पणी गर्नुभएकाे छ।
पूर्वअध्यक्ष थापाले मंगलबार उक्त पत्र सामाजिक सञ्जालमा पाेष्ट गर्दै यस्ताे टिप्पणी गर्नुभएकाे हाे। अध्यक्ष राजेन्द्र लिङ्देनले साेमबार बागमती प्रदेशकी उपसभामुखलाई राप्रपाका ३ सांसद पदमुक्त भएकाे जानकारीसहितको पत्र पठाउनुभएकाे थियाे। अध्यक्ष लिङ्देनले पठाएको पत्रलाई पूर्वअध्यक्ष थापाले नक्कली भएकाे टिप्पणी गर्नुभएकाे छ।
बागमतीमा मुख्यमन्त्रीलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने विषयमा राप्रपाभित्र मतभेद छ। पूर्वअध्यक्ष थापा पक्ष भने बागमती सरकारमा गए पनि हुने पक्षमा उभिएको थियो। साथै बागमती संसदीय दल नेता उद्धव थापामाथि राप्रपाले कारबाही गर्दा पनि पूर्वअध्यक्ष थापाले असहमति जनाउनुभएकाे थियाे।
बागमतीमा राप्रपाका १२ जना सांसद रहेका छन्। राप्रपाले जसमध्ये ४ जनालाई पदमुक्त गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया