देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ

58 Shares

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा चितवनको रत्ननगर नगरपालिकाबाट दुई जना तथा कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक–एक जना पक्राउ परेका छन् ।

त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५ नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।