काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
सर्वोच्चले श्रेष्ठको घरबाट प्रहरीले नियन्त्रणमा लिएका दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगिएका ६ वटा सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको श्रेष्ठका वकिल वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।
श्रेष्ठको पक्षबाट वरिष्ठ अधिवक्ता भट्टराई र रमेश बडालले बहस गरेका थिए ।
श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
यसअघि बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
एक महिलाले वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो ।
पक्राउ गर्नुअघि प्रहरीले बुधबार राति नै श्रेष्ठको घरमा खानतलासी गरेको थियो । त्यसपछि बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया