काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका जटिल समस्या समाधानका लागि अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको ज्ञान तथा अनुभवलाई आत्मसात गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै दाहालले नेपालमा विभिन्न राजनीतिक उतारचढाव पार गरेका, लोकतन्त्रका लागि झन्डै सात दशकसम्म जेल, यातना र बलिदान सहेका नेताहरूको अनुभव मुलुकको महत्वपूर्ण सम्पत्ति भएकाले उनीहरूसँग संवाद र सहकार्य गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै उनले विगतका अनुभवबाट सिक्न किन हिच्किचाइरहेको भन्ने प्रश्न उठाए । उनले भने, ‘मलाई पनि एकपटक बोलाएर, तपाईंले पनि भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्नुभएको थियो, सफल हुन केले दिएन ? भनेर सोध्न सकिन्थ्यो । अनुभवबाट सिक्न किन हिच्किचाउनु ? यदि म आफैँ पर्याप्त छु, मलाई कसैको आवश्यकता छैन भन्ने अहंकारले यस्तो भइरहेको हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।’
दाहालले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत अन्य राजनीतिक दलसँग शासन सञ्चालन र राजनीतिक संघर्षका लामो अनुभव रहेको उल्लेख गर्दै ती अनुभव वर्तमान सरकारका लागि मार्गदर्शक बन्न सक्ने बताए ।
सरकार संवादबाट टाढिँदा त्यसको असर राष्ट्र र जनतामाथि पर्ने चेतावनी दिँदै उनले भने, ‘सरकार जति संवादबाट टाढा जान्छ, प्रतिपक्षलाई अवमूल्यन वा अपमानित गर्छ, वा समाजका कुनै वर्ग, तह वा समुदायलाई बेवास्ता गर्छ, त्यति नै राष्ट्र, जनता र हामी सबै अप्ठ्यारोमा पर्न सक्छौँ ।’
दाहालले सबै वर्ग, तह र समुदायलाई समेटेर अघि बढ्न सरकारलाई आग्रह गर्दै संवाद, सहकार्य र अनुभवको उपयोगबाट मात्रै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया