काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार उपचाररत कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उनको पेटमा गोली लागेको थियो ।
जयप्रकाश मेहता सिटी सफारी चालक रहेका थिए ।
घटनामा घाइते भएका अन्य आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि सोही घटनामा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । जयप्रकाशको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
घटनापछि सुनसरीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने जिल्लाका केही क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया