लाजिम्पाटबाट दुई पक्राउ: भारतीय नागरिकमाथि कुटपिट र जबरजस्ती बढी बिल तिराएको आरोप

65 Shares

काठमाडौं — विदेशी नागरिकमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार लाजिम्पाटस्थित बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उक्त डान्स क्लबमा भारतीय नागरिकलाई कुटपिट गरी अत्यधिक बिल बनाउने र मोबाइल बैंकिङमार्फत जबरजस्ती रकम तिर्न लगाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका दुवैले प्रहरीको काममा अवरोध पुर्‍याउनुका साथै प्रहरीमाथि हातपातसमेत गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।