नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि, संख्या ४२९ पुग्यो

66 Shares

काठमाडौँ । नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार नेपालमा बाघको संख्या वृद्धि भएको पाइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा बुधवार एक कार्यक्रमको आयोजना गरी उक्त सर्वेक्षण सार्वजनिक गरेको हो ।

सर्वेक्षणअनुसार नेपालमा हाल बाघको संख्या ४ सय २९ पुगेको छ । वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यकाअनुसार नेपालमा २००९ बाट क्यामेरा ट्र्याप विधिबाट बाघको गणना गर्न थालिएको थियो । सन् २००९ मा १ सय २१ रहेको बाघको संख्या बढेर हाल ४ सय २९ पुगेको हो । २०१३ मा १ सय ९८, २०१८ मा २ सय ३५, २०२२ मा ३ सय ५५ बाघ गणना गरिएको उनले जानकारी दिए ।

उनकाअनुसार राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अन्तर्गत बाघको वासस्थानलाई ३ वटा कम्पलेक्समा विभाजन गरेर गरिएको थियो । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँट लालझाडी कम्पलेक्सको विभाजन गरेर बाघको गणना गरिएको हो । नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा रहेका छन् । उनले सर्वेक्षण राष्ट्रिय निकुञ्ज, वन क्षेत्र तथा बाघको वासस्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको जानकारी दिए ।

उनले राष्ट्रिय निकुञ्जभित्र २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइको ग्रिड बनाएर क्यामेरा राखी बाघको ट्र्याक गरिएको जानकारी दिए । उनले सर्वेक्षणका क्रममा बाघले क्षेत्र विस्तार गरेको छ कि छैन भन्ने बारेमा पनि अध्ययन गरेको बताए ।

उनले भने ‘सन् २००९ देखी हामीले क्यामरा ट्र्याप गरेर बाघ गणना थालेका थियौँ, त्यतिवेला १२१ बाघ थियो भने बिस्तारै २०१३ मा १९८, २०१८ मा २३५, २०२२ मा ३५५ हुँदै अहिले ४२९ वटा पुगेको छ । नेपालको बाघको स्टेटसले नेपालभित्र मात्र हैन, यसको सरोकार अझै बाहिर बाघ पाउने देश र बाघ नपाउने देशका लागि पनि महत्त्वपूर्ण चासो हुने गरेको छ । हाम्रो सर्भे एरिया भनेको तराईको टाइगर पार्क पाँच वटा छ, त्यसको वरिपरिको नेसनल फरेष्ट त्यसमा त्यो भित्र कम्युनिटी फरेष्ट पनि पर्छ र खास टाइगरको एउटा एबन्डेन्स सर्भे हुन्छ । नेशनल पार्क र वरिपरिको एरियामा हामीले यसको सर्भे गर्ने गरेका छौँ ।’

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणमा सरकारले काम गर्दै आएको बताए । बाघ संरक्षण बहुपक्षीय सहकार्य, स्थानीय समुदायको सहभागिता र साझेदारीबाट मात्र प्रभावकारी हुने उनको भनाई छ । विश्वव्यापी रूपमा सन् २०१० मा करिब ३ हजार रहेको बाघको संख्या नेपालसहितका देशहरूको प्रयासबाट ५ हजार ५ सयभन्दा बढी पुगेको बताउँदै नेपालमा नियमित गस्ती, चोरी–सिकारी नियन्त्रण, वासस्थान व्यवस्थापन र सामुदायिक साझेदारीका कारण बाघको संख्या निरन्तर बढेको बताए ।

उनले बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व पनि बढेकाले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण, होल्डिङ सेन्टरमा व्यवस्थापन तथा पीडित परिवारलाई छिटो राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिए । दीर्घकालीन व्यवस्थापनका लागि ‘टाइगर स्यान्चुरी’ र चिडियाखानाजस्ता विकल्पको अध्ययन भइरहेको पनि उनले बताए । उनले बाघको संरक्षणबाट स्थानीय जीविकोपार्जन, पर्यापर्यटन तथा ‘टाइगर टुरिजम’मार्फत रोजगारी र आय सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बाघ संरक्षणलाई पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको भन्दै अब संरक्षणभन्दा बढी व्यवस्थापन, अनुसन्धान र जोखिम विश्लेषणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । उनले बाघ–मानव द्वन्द्व हुनसक्ने संवेदनशील क्षेत्रको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बाघको दीर्घकालीन जनसंख्या प्रक्षेपण (मोडलिङ) गर्नुपर्ने तथा समुदायमा केन्द्रित लगानी बढाउनुपर्ने उनको भनाई छ । बाघ संरक्षणलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्ने विकल्पबारे पनि अध्ययन भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. चिरञ्जीविप्रसाद पौडेलले ४ सय २९ बाघको संरक्षण सबैको साझेदारी र प्रतिबद्धताको परिणाम भएको उल्लेख गरे । उनले अब मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सबैभन्दा ठुलो चुनौती बनेको बताए । उनले सरकारको नीतिअनुसार सहअस्तित्वको अवधारणामा आधारित कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली सेनाका सहायक रथी पुरन घलेले बाघ संरक्षणमा नेपाली सेनाको ५० वर्षदेखिको भूमिका स्मरण गर्दै भविष्यमा पनि संरक्षण अभियानमा सेना प्रतिबद्ध रहने बताए । उनले वातावरणीय ईको सिष्टमलाई जोगाएर राख्न पनि बाघ संरक्षण अपरिहार्य रहेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेलले बाघ गणनाबाट बाघको संख्या मात्र नभई आहारा प्रजाति, वासस्थान, अन्य वन्यजन्तु तथा अवैध गतिविधिसम्बन्धी महत्त्वपूर्ण तथ्यांक पनि संकलन भएको जानकारी दिए । प्राप्त तथ्यांकले भविष्यका संरक्षण तथा सहअस्तित्वसम्बन्धी नीति निर्माणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बाघको तुलनामा कतिपय अवस्थामा चितुवाबाट बढी मानवीय क्षति हुने तथ्यांक रहेको उल्लेख गर्दै बाघमाथि अनावश्यक दोषारोपण नगर्न आग्रह गरे । व्यवहार परिवर्तन अभियान, समस्याग्रस्त बाघको समयमै व्यवस्थापन तथा स्थानीय समुदायमा सचेतना विस्तारले मानवीय क्षति घटाउन सहयोग पुगेको उनले बताए ।

बाघ सर्वेक्षणले बाघ र यसको वासस्थान संरक्षण र व्यवस्थापनसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्न महत्त्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने विभागले जनाएको छ । विभागका अनुसार सर्वेक्षणका क्रममा कूल ७ हजार ३ सय ९३ वर्ग किलोमिटर क्षेत्रमा १ हजार ८ सय ८४ वटा ग्रिड बनाइएको थियो । उक्त ग्रिडमा ३ हजार ६ सय ९६ वटा स्वचालित क्यामेरा जडान गरिएको थिए ।

कुल ग्रिडमध्ये ६ सय ३९ वटा ग्रिडमा बाघको तस्बिर क्यामेरामा कैद भएको थियो । सर्वेक्षणमा सबै स्टेशनमा राखिएका क्यामराहरूको कुल जम्मा दिन ३६ हजार १८१ रहेको र क्यामेरा ट्रयापबाट कुल ११ हजार ९ सय ११ वटा बाघको तस्बिरहरू प्राप्त भएको विभागले जनाएको छ । विभागले चार/चार वर्षमा बाघको गणना गर्दै आएको छ ।