मेची–महाकाली जनजागरण यात्रा : चुरे संरक्षकका लागि सरकारलाई संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र बुझाउने

44 Shares

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले चुरे क्षेत्रमा बढ्दो अवैध उत्खनन् र वन फँडानी रोक्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

अभियानले चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले गर्दा तराई मधेसको भूमि मरुभूमीकरण हुने खतरा बढेकाले भन्दै सोमवार सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको हो ।

अभियानका अध्यक्ष सुनिलकुमार यादवले यही १ गतेदेखि ११ सम्म मेची–महाकाली हस्ताक्षर अभियान सम्पन्न गरेको उल्लेख गर्दै संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र सरकारलाई बुझाउने तयारी भइरहेको बताए ।

उनले हस्ताक्षर अभियानका क्रममा देशभरका करिब २ सय स्थानमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिएको थियो ।

अध्यक्ष यादवले झापाको मेची पुलदेखि कञ्चनपुरस्थित महाकाली पुलसम्म पुगेर अभियान सञ्चालन गरिएको उल्लेख गर्दै चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए ।

उनले अभियानका प्रतिनिधिहरूसँग भेट्न हालसम्म सरकारका कुनै प्रतिनिधि नआएको गुनासो समेत गरे । उनले अभियानले विगत एक दशकदेखि चुरे क्षेत्रमा भइरहेको अवैध गिट्टीबालुवा उत्खनन र क्रसर उद्योगको नियन्त्रण, अतिक्रमित नदीनालाको संरक्षण, प्रदूषण नियन्त्रण, वनजङगलको फँडानी र जडीबुटीको अवैध दोहनमा रोक लगाउन संघर्षरत रहेको पनि बताए ।

उनले भने, ‘हाम्रो यो अभियानले विगत एक दशकदेखि संघर्षरत रहेको यहाँहरूलाई अवगत नै छ । हामीले वनजंगल संरक्षणको लागि यही जेठ १ गतेदेखि यो वनजंगल संरक्षणका लागि मेची महाकाली हस्ताक्षर अभियान थालेका थियौँ । हस्ताक्षर अभियानको क्रममा जेठ ११ गते कञ्चनपुरको महाकाली पुलमा पुग्यौँ । यसबीचमा हामीले देशका करिब २ सय चोकहरूमा जनजागरण एवं हस्ताक्षर अभियान सञ्चालन गर्यौँ । अनि हामी त्यहाँबाट माइतिघर मण्डलामा आएका हौँ । चुरे क्षेत्रको जुन भयावह स्थिति छ । चुरे क्षेत्रमा अवैध उत्खनन, वन फँडानी लगायतका समस्याको बारेमा हामी सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदैछौँ । तर अहिलेसम्म सरकारका कुनै पनि प्रतिनिधि हामीलाई भेट्न आउनुभएको छैन । भोलि हामीले संकलन गरेका हस्ताक्षर तथा ध्यानाकर्षण पत्र बुझाउने छौँ ।’

उनले तराई, पहाड र हिमालबीचको वातावरणीय सन्तुलन कायम राख्न राष्ट्रिय एकताको आह्वान पनि गरे ।