मल अभाव र महँगीले किसान संकटमा, ७७ जिल्लाबाट सरकारलाई ज्ञापनपत्र बुझाइने

43 Shares

काठमाडौं — नेपाल किसान महासंघ ले रासायनिक मलको अभाव र चुलिँदो महँगीका कारण देशभरका किसान गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

मंगलबार सानेपामा बसेको महासंघको केन्द्रीय समिति बैठकले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने निर्णय गरेको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार खेतीपातीको मुख्य समयमा समेत किसानले सहज रूपमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर परेको छ।

महासंघले किसानका समस्या समाधानका लागि देशव्यापी रूपमा एकै दिन र एउटै समयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। यसका लागि ७७ जिल्लाका अध्यक्ष, सातै प्रदेशका अध्यक्ष र केन्द्रीय समिति एकसाथ परिचालित हुने बताइएको छ।

अध्यक्ष तिमिल्सिनाले मल अभाव र बढ्दो महँगीका कारण किसान मारमा परेको उल्लेख गर्दै यी समस्यामा सरकारको ध्यान जान आवश्यक रहेको बताए।

त्यस्तै, उत्पादन लागत निरन्तर बढ्दै गए पनि त्यसअनुसार बजार मूल्य सुनिश्चित हुन नसक्दा किसान थप समस्यामा परेको उनको भनाइ छ।