काठमाडौं । अखिल नेपाल फुटबल संघ का २४ पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर लाई विदेश भ्रमणमा रोक लगाइएको छ। गृह मन्त्रालय को निर्देशनपछि अध्यागमन विभाग ले उनीहरूको नाम कालोसूचीमा राख्दै देश बाहिर जान प्रतिबन्ध लगाएको हो।
यो निर्णय राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसका आधारमा गरिएको हो। राखेपले एन्फासम्बन्धी विषयमा छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराई को संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। उक्त समितिले आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
प्रतिबन्धमा परेकामध्ये वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी, प्रवक्ता सुरेश शाह लगायत अन्य कार्यसमिति सदस्यहरू रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद ले राष्ट्रिय खेलकुद ऐन, एन्फाको विधान तथा साधारणसभाको निर्णयविपरीत गत चैत १३ गते जबरजस्ती ‘अर्ली इलेक्सन’ गराउन खोजिएको भन्दै चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
निलम्बन अवधिमा पदाधिकारीहरू विदेश जानसक्ने आशंका भएपछि छानबिन प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो प्रतिबन्धात्मक कदम चालिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया