मेरो बाबु भए पनि गल्ती गरे छाड्दिनँः गृहमन्त्री गुरुङ

31 Shares

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गल्ती गर्ने जो–कोहीलाई नछाड्ने बताएका छन् । उनले आफ्नै परिवारको सदस्यले गल्ती गरेको भए पनि कारबाही गर्ने बताए । ‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले गल्ती गरेको भए पनि छाड्दिनँ’ गुरुङले भने ।

उनले गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको स्पष्ट पारे । भीआईपीमाथिको कारबाहीमा अदालतबाट हुने निर्णयप्रति उनले असन्तुष्टि व्यक्त गरे । विशेषगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाई पक्राउ गरेर पनि अदालतले छाडेको घटनाप्रति उनले गुनासो गरे । ‘रातभर दुई आईजीपी र म बसेर काम ग¥यौं, तर अहिले अदालतले छाडिदियो । हाम्रो दुःख खेर गयो,’ उनले भने ।

गृहमन्त्री गुरुङले कानुनी जटिलताका कारण कतिपय अवस्थामा कारबाही प्रभावकारी हुन नसकेको स्विकार्दै आफू अहिले कानुन अध्ययनमा केन्द्रित भएको बताए । ‘अब भोलिका दिनमा समाउँदा यो कारण र यो कानुनका आधारमा छाड्न नमिल्ने भनेर स्पष्ट भन्न सकियोस्,’ उनले भने ।