गृहमन्त्री सुधन गुरुङको सम्पत्ति सार्वजनिक: करोडौँको जग्गा, ४ करोड बढी शेयर लगानी

72 Shares

काठमाडाैं । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सोही विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा उल्लेख्य जग्गा रहेको देखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चितवनको भरतपुर–१८ मा ३० कठ्ठा, गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी र धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा गुरुङको नाममा रहेको छ।

त्यसैगरी, गुरुङसँग ८९ तोला सुन (पैतृक) र ६ किलो चाँदी रहेको छ भने नगद करिब ६० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। उनका विभिन्न बैंक खातामा नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय रुपैयाँ र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ मौज्दात रहेको छ। तर नगद आम्दानीको स्रोत भने खुलाइएको छैन।

शेयर लगानीतर्फ उनले होप होल्डिङमा ३० हजार कित्ता (३० लाख रुपैयाँ) र लगुम प्रिमियममा ५७ हजार कित्ता (५७ लाख रुपैयाँ) लगानी गरेका छन्। साथै, धितोपत्र कारोबारमा २ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको उल्लेख छ। कुल शेयर लगानी करिब ४ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

यस्तै, गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँ मूल्यको एमजी गाडी पनि रहेको छ, जुन लगुम प्रिमियम अपार्टमेन्टको नाममा दर्ता भएको जनाइएको छ।