प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा

47 Shares

काठमाडौँ । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूमाथि अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक पर्दा उपस्थित हुने शर्तमा उनलाई आफन्तको जिम्मा लगाएर रिहा गरिएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरिएको थियो ।

उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति आलोचना बढेको छ । आलोचकहरूले बालेनका पुराना फेसबुक स्टाटस तथा भिडियोहरू पुनः सेयर गर्दै विभिन्न टिप्पणी गरिरहेका छन् ।