डा. सुधा गौतमः राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गरिने, औषधि गुणस्तर परीक्षण र निर्यात प्रवद्र्धन लक्ष्य

135 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम ले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताउनुभएको छ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको फार्मा एक्स्पोमा सम्बोधन गर्दै मन्त्री गौतमले बजारमा उपलब्ध हजारौं प्रकारका औषधिहरू परीक्षण गर्ने क्षमता हाल राज्यसँग नभएको स्वीकार गर्नुभयो। उहाँले प्रयोगशालाको भौतिक संरचना र जनशक्ति विकासका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिनुभयो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको प्रारम्भिक विश्लेषणअनुसार नेपालको औषधि व्यवस्था विभाग हाल ‘लेभल वान’ (स्तर एक) मा मात्र रहेको र कम्तीमा ‘लेभल थ्री’ वा ‘लेभल फोर’ मा पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनुभयो। गुणस्तरहीन र म्याद गुज्रिन लागेका कच्चा पदार्थ (र–म्याटेरियल) भित्रिन नदिन र उत्पादित औषधिको सही विश्लेषणका लागि अत्याधुनिक प्रयोगशाला अनिवार्य भएको उहाँको भनाइ छ।

प्रयोगशालाको सुधारका लागि सरकारले ‘ओ एण्ड एम’ (संगठन तथा व्यवस्थापन) सर्वेक्षण सम्पन्न गरी नयाँ दरबन्दी सिर्जना गर्न स्वीकृति पाएको मन्त्री गौतमले जानकारी दिनुभयो। नयाँ प्रयोगशाला भवन निर्माणका लागि सिंहदरबारभित्रको पुरानो स्वास्थ्य मन्त्रालयको जग्गा र बाराको पथलैयामा सम्भाव्यता अध्ययन भए पनि, जनशक्ति र अन्य प्राविधिक कारणले हालकै स्थानमा पुरानो भवन भत्काएर नयाँ अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने निष्कर्षमा सरकार पुगेको उहाँले बताउनुभयो।