काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी तनावले भविष्यमा गम्भीर भूराजनीतिक संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले खाडी क्षेत्रको युद्धका कारण त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरू त्रसित बनेको उल्लेख गरेका हुन् ।
महासचिव पोखरेलले युद्धको बाछिटाले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत प्रतिकूल असर पार्ने संकेत गरे । विशेषगरी पेट्रोलियम पदार्थ र ग्यासको सम्भावित अभाव तथा बढ्दो महँगीले बजार प्रणालीलाई प्रभावित पार्ने र आम नागरिकको दैनिकी थप कष्टकर बन्ने उनको विश्लेषण छ ।
यस्तो संवेदनशील परिस्थितिमा नेपाली समाजले धैर्यता र संयम कायम राख्नुपर्नेमा जोड दिँदै उनले आगामी सरकारको ध्यानाकर्षण समेत गराएका छन् । पोखरेलले लेखेका छन् । ‘अब बन्ने सरकारले सम्भावित प्रभावलाई कम गर्न अहिल्यैदेखि ठोस योजना र पूर्वतयारी सुरु गर्नुपर्छ ।’
संकटलाई समयमै सम्बोधन नगरे यसले बहुआयामिक रूप लिने उनको तर्क छ । महासचिव पोखरेलले थप चेतावनी दिँदै भनेका छन्, ‘यो संकट केवल आर्थिक वा मानवीय सीमामा मात्र रहने छैन, यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ । त्यसैले हामी सबै गम्भीर र सजग बन्नु अनिवार्य छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया