काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ तहमा, विश्वका प्रदूषित सहरमध्ये छैटौँ स्थानमा

39 Shares

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै उल्लेख्य सुधार हुन सकेको छैन। पछिल्ला दिनमा निकै खराब अवस्थामा पुगेको वायु प्रदूषण आज पनि अस्वस्थ तहमै रहेको छ।

स्विट्जरल्याण्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ पुगेको छ। १५० भन्दा माथि पुगेपछि वायुको अवस्था अस्वस्थ मानिन्छ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ।

आज काठमाडौं विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये छैटौँ स्थानमा परेको छ। सूचीको पहिलो स्थानमा उज्वेकिस्तान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौँ स्थानमा भारतकै कोलकाता रहेका छन्।

यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाका भने अहिले दशौँ स्थानमा झरेको छ।

प्रदूषण बढेपछि सरोकारवालाले सबैलाई सचेत रहन आग्रह गरेका छन्। बाहिर निस्कँदा मास्क प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिइएको छ।