मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गरेका पेम्बा शेर्पा 'प्रत्यारोपण एम्बास्डर'

362 Shares

काठमाडौँ । मिर्गौला प्रत्यारोपण पश्चात सगरमाथाको सफल आरोहण गर्नुभएका आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यारोपणको एम्बास्डर बनाउने भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आरोही शेर्पाको सममानको लागि आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले प्रत्यारोपणको एम्बास्डर बनिदिन आग्रह गर्नुभएको हो । उहाँले प्रत्यारोपण क्षेत्रमा स्वास्थ्य मन्त्रालयले एम्बास्डर बनाउने घोषणा गर्नुभयो । शेर्पाले मिर्गौला प्रत्यारोपण गरिसकेपछि पनि सगरमाथाको सफल आरोहण गरेर ठूलो उदाहरण पेश गर्नुभएको उल्लेख गर्दै सफल र उदाहरणीय इतिहास समाजलाई बताउन जरुरी रहेको बताउनु भयो । उहाँले अब भरियाहरुको स्वास्थ्य बीमा हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो । 

पर्यटन मन्त्रालयलाई रोयल्टीमा भरियाहरुको बीमा शुल्क समेत जोड्न लगाइ हरेकलाई बीमामा आवद्ध गर्न आग्रह गर्ने बताउनु भयो । त्यसो गर्न सम्भव नभए स्वास्थ्य मन्त्रालयले आधा, पर्यटन मन्त्रालयले आधा व्यहोरेर सबै पोर्टरहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रवन्ध गर्ने प्रतिवद्धता जनाउनु भयो । सगरमाथा क्षेत्रमा धेरै फोहोर बढेको भन्दै प्रकृतिको अमूल्य उपहार दुषित हुन दिनु नहुने बताउनु भयो ।

कार्यक्रममा आरोही शेर्पाले रोगबारे थाहा नपाइकनै अन्तिम स्टेजमा पुगेपछि थाहा पाएको बताउनु भयो । उहाँले जापानबाट नेपाल आइसकेपछि मात्रै आफू बचेको जिकिर गर्नुभयो । उहाँले नेपालमा आएर उपचार गर्दा धेरै नै खर्च भएको बताउनु भयो । उहाँले टिचिङमा मिर्गौला प्रत्यारोपण गर्न खोज्दा समय नपाएर धेरै नै समस्या व्यहोरेको सुनाउनु भयो । तीन महिनाभित्र शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण गरी अहिले स्वस्थ रहेको बताउनु भयो ।

जलवायु परिवर्तनको असर सगरमाथामा विकराल रहेको बताउनु भयो । हिमालका हिउँ पग्लिएर कालो पत्थरमा रुपान्तरण भएको बताउनु भयो । १० वर्षमा यस्तै रहने हो भने सबै हिउँ पग्लिसक्ने बताउनु भयो ।