नमूना विद्यालयको अभ्यासबाट सिक्दै दाङका चार विद्यालयले बनाए सुधार योजना

9 Shares

काठमाडौं । दाङका विद्यार्थी, शिक्षक तथा अभिभावकले विभिन्न जिल्लाका नमूना विद्यालयको स्थलगत अवलोकन गरेपछि आफ्ना विद्यालय सुधारका योजना अघि सारेका छन् ।

दाङको तुलसीपुरका चारवटा विद्यालयका विद्यार्थी तथा शिक्षकले बर्दिया र सुर्खेतका नमूना विद्यालयले अपनाएका सकारात्मक अभ्यासको अवलोकन गरेका थिए ।

समाजमा वातावरणीय शिक्षाको विकास ९सिड०को समन्वयमा तुलसीपुर उपमहानगरपालिका–१३ स्थित अम्बेश्वरी मावि अम्बापुर, शान्तिनगर गाउँपालिका–३ स्थित विपी मावि बयाले, शान्तिनगर–७ स्थित मावि तुलसीपुर र शान्तिनगर–२ स्थित जनकल्याण मावि सिमसुन्दरपुरका विद्यार्थी तथा शिक्षकले अन्य जिल्लाका विद्यालयको अवलोकन गरेका हुन् ।

सिडका कार्यकारी निर्देशक भागिराम चौधरीले आफ्नो विद्यालयमा सफल अभ्यास लागू गर्ने उद्देश्यले अवलोकन कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार अन्य जिल्लाका विद्यालयले अपनाएका अभ्यासबाट सिकेर नमूना विद्यालय बनाउने योजना रहेको छ ।

अवलोकनपछि विद्यालय सुधार योजना अघि सारिएको विपी मावि बयालेकी विद्यार्थी करुण ज्ञवालीले कार्यक्रम प्रभावकारी भएको बताइन् । उनले विद्यालयमा अनुशासन कायम गर्ने, परिसर हरियाली बनाउन बिरुवा रोप्ने तथा संस्कार र संस्कृतिसम्बन्धी गतिविधि सुधार गर्ने योजना बनाएको जानकारी दिइन् ।

त्यस्तै, अम्बेश्वरी मावि अम्बापुरकी विद्यार्थी सुस्मिता परियारले विद्यालय सुधारमा विद्यार्थीको पनि महत्त्वपूर्ण भूमिका रहने बताइन् । शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासबाट मात्रै सामुदायिक विद्यालय सफल हुने विपी मावि बयालेका प्रधानाध्यापक ठुमराज लामिछानेले बताए ।

यस्ता रहेछन् अन्य विद्यालय

बर्दियाको बारबर्दिया नगरपालिका–२ स्थित युवक माध्यमिक विद्यालयमा संस्कारसहितको शिक्षालाई जोड दिइएको छ । विद्यालय प्रवेश गर्दा हरेक दिन दुई जना शिक्षक र विद्यार्थीले मुस्कानसहित झुकेर नमस्ते गर्दै स्वागत गर्ने गरेका छन् । एकअर्कासँग कुराकानी गर्दा ‘तपाईं’ तथा ‘हजुर’ जस्ता आदरार्थी शब्द प्रयोग गर्ने अभ्यास गरिएको छ ।

प्रधानाध्यापक नरेशकुमार चौधरीका अनुसार विद्यार्थीलाई भौतिक सजाय दिनुको सट्टा विद्यालयले ‘कनेक्सन बिफोर करेक्सन’ अर्थात् पहिले सम्बन्ध जोड्ने र त्यसपछि सुधार गर्ने नीति अपनाएको छ ।

हरेक महिनाको अन्तिम दिन शिक्षक र विद्यार्थी आ–आफ्नो परम्परागत पोसाकमा उपस्थित हुने गरेका छन् । स्थानीय स्रोत व्यक्तिमार्फत दुना–टपरी बनाउने, डोरी बाट्ने र चित्रकलाजस्ता सीप पनि सिकाइन्छ ।

टोलटोलमा ५६ वटा ‘दौँतरी सिकाइ समूह’ गठन गरी दुई–दुई जना शिक्षकले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । यसबाट पढाइमा अब्बल र कमजोर विद्यार्थीले सँगै बसेर सिक्ने अवसर पाएका छन् भने मोबाइलको लतसमेत क्रमशः कम हुँदै गएको प्रधानाध्यापक चौधरीले बताए ।

कक्षा १० का विद्यार्थीका लागि परीक्षाअघि चार महिने आवासीय कक्षा सञ्चालन गरिएको छ । विद्यालयले ‘ग्रिन स्कुल, क्लिन स्कुल’ अभियानअन्तर्गत विद्यार्थीबाट घरघरबाट मल ल्याउन लगाएर करिब रु दुई लाख बराबरको फूलबारी तयार पारेको छ । ‘ग्रिन होम, क्लिन होम’ अभियानअन्तर्गत शिक्षकले घरमै पुगेर गरेको सर्वेक्षणमा ३७ प्रतिशत विद्यार्थीका घरमा फूल रोपिएको पाइएको थियो ।

विद्यालय समयमा अनुशासन कायम राख्न हाजिरीपछि विद्यार्थीको परिचयपत्र कार्यालयमा सङ्कलन गरी अपराह्नमा मात्रै फिर्ता दिने व्यवस्था गरिएको छ । यसले समयभन्दा अगाडि विद्यालय छोडेर जाने विद्यार्थीको सङ्ख्या घटाउन सहयोग पुगेको विद्यालयले जनाएको छ ।

अस्तव्यस्तबाट उठेको विद्यालय

सुर्खेतको वीरेन्द्रनगर–६ स्थित जन–नमुना माध्यमिक विद्यालयको कथा भने फरक छ । विसं २०७१ सालअघि विद्यालय निकै अस्तव्यस्त थियो । विद्यालय परिसरमा हुलदङ्गा र गुण्डागर्दी हुने, बाहिरका मानिस आएर कक्षाकोठाबाटै छात्रालाई लैजाने तथा राजनीतिक दलका आमसभा र मेलापर्व आयोजना हुने गरेका थिए ।

विद्यालयको अवस्था कमजोर हुँदा चार जना शिक्षकको दरबन्दीसमेत कटौती भएको थियो । त्यतिबेला विद्यालयको सिकाइ उपलब्धि १५ प्रतिशतभन्दा कम थियो । अहिले भने उक्त विद्यालय नमूना विद्यालयका रूपमा स्थापित भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाका अनुसार व्यवस्थापन समिति र शिक्षकका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने नियम लागू गरेपछि सुधारको प्रक्रिया सुरु भएको थियो ।

राजनीतिक दलसँग छलफल गरी विद्यालयलाई पूर्ण रूपमा बन्द–हडतालमुक्त क्षेत्र बनाइएको थियो । त्यसपछि पठनपाठनमा सहज भएको उनले बताए ।

उक्त विद्यालय विसं २०७१ मा सुर्खेत जिल्लाभरिकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको थियो । विसं २०७२ मा निजी र सामुदायिक दुवैतर्फ उत्कृष्ट तथा २०७३ मा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रकै सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।

विसं २०७४ मा पहिलोपटक लेटर ग्रेडिङ प्रणाली लागू हुँदा देशभरका ७४ जना विद्यार्थीले चार जिपिए ल्याएका थिए । त्यतिबेला काठमाडौँ उपत्यकाबाहिरबाट चार जिपिए ल्याउने उक्त विद्यालय नेपालकै एक मात्र सामुदायिक विद्यालय बनेको थियो ।

हाल विद्यालयमा तीन हजार ५०० विद्यार्थी अध्ययनरत छन् । सिकाइ उपलब्धि ८० प्रतिशत पुगेको अध्यक्ष कोइरालाले बताए । उनका अनुसार भौतिक पूर्वाधारले धान्न सक्ने सङ्ख्याका विद्यार्थीलाई मात्रै भर्ना लिने गरिएको छ ।

विद्यालयमा भर्नाका लागि मुख्यमन्त्री, मन्त्री तथा सचिवबाट समेत फोन आउने गरेको उनले बताए । विद्यालयले पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा समाजका प्रतिष्ठित व्यक्तिलाई समेटेर सल्लाहकार परिषद् गठन गरी निरन्तर सुझाव लिने गरेको छ ।

विद्यालयमा अनुशासन कायम गर्न बिहान ९ः५५ बजेभित्र शिक्षक तथा विद्यार्थी विद्यालय प्रवेश गरिसक्नुपर्ने र अपराह्न ४ बजेसम्म बस्नुपर्ने नियम लागू गरिएको छ । वर्षमा तीनपटक अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने तथा उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थीलाई वार्षिक उत्सवमा पुरस्कृत गर्ने परम्परासमेत बसालिएको छ ।

त्यस्तै, विद्यालयले ‘स्वेच्छिक सहयोग प्राप्ति कार्यविधि’ निर्माण गरी अभिभावकबाट स्वेच्छिक सहयोग लिने गरेको छ । त्यसबाट वार्षिक रु छ करोडभन्दा बढी सङ्कलन हुने गरेको अध्यक्ष कोइरालाले बताए ।

टोलमा शिक्षा समिति

सुर्खेतको जनज्योति मावि बड्डीचौर, बराहतालले टोलमा शिक्षा समिति गठन गरेर विद्यार्थीका गतिविधि र सक्रियता अनुगमन गर्ने गरेको छ । सहायक प्रधानाध्यापक कमलराज आचार्यका अनुसार टोलटोलमा गठन गरिएका समितिले विद्यार्थीको गतिविधि अनुगमन गर्ने गरेका छन् ।

विद्यालय कृषि विषयको पढाइमा समेत अग्रणी बनेको छ । हाल विद्यालयमा १५ महिने र तीनवर्षे कृषि तथा सोही अवधिका भेटेरिनरी कक्षा सञ्चालनमा छन् । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई कृषिमा व्यावहारिक रूपमा संलग्न गराउने गरिएको छ ।

‘पढ्दै–कमाउँदै’ कार्यक्रम आफ्नै विद्यालयबाट सुरु भएर देशव्यापी बनेको आचार्यको दाबी छ । विद्यार्थीले मौरीपालन, कृषि तथा बाख्रापालन गरेर आम्दानी गर्न थालेपछि कार्यक्रम सफल भएको उनले बताए ।

विद्यार्थीले एक बिघा क्षेत्रफलमा माछापोखरी निर्माण गरी हाँसपालनसमेत गरेका छन् । अहिले सुरुआती चरणको जस्तो व्यापक नभए पनि कार्यक्रमबाट सीप सिकेका विद्यार्थीले आफ्नै व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेको आचार्यले बताए । विद्यालयले चुरापोते बनाउने तालिमजस्ता जीवनोपयोगी सीपसमेत सिकाउँदै आएको छ ।

त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–४ स्थित जनता मावि बठुवा पनि कृषि शिक्षामा स्थापित विद्यालय हो । त्यहाँ कृषिसम्बन्धी कक्षा सञ्चालन हुनुका साथै विद्यालय परिसरमा गोलभेँडा, खुर्सानी, बन्दा र भिन्डीजस्ता तरकारी खेती गरिएको छ । च्याउखेती, गाईपालन तथा माछापालनसमेत हुँदै आएको छ । तरकारी खेतीका लागि आवश्यक मल विद्यालय आफैँले उत्पादन गर्ने गरेको छ ।

विद्यार्थीको कार्ड स्क्यान

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ जुडपानी बगनाहस्थित चुरे माध्यमिक विद्यालयले विद्यार्थीको कार्ड स्क्यान गरेर हाजिरी गर्ने गरेको छ । यसबाट विद्यार्थीको उपस्थिति यकिन गर्न सहज भएको प्रधानाध्यापक राजेश यादवले बताए ।

विद्यालयमा माइक्रोफोनमार्फत कक्षाकोठाको गतिविधि नियन्त्रण गर्ने व्यवस्था पनि छ । शिक्षक उपस्थित नहुँदा पनि माइकबाट निर्देशन दिँदा कक्षाकोठा व्यवस्थित हुने गरेको उनको भनाइ छ ।

त्यस्तै, विद्यालयमा गणित विषयको प्रयोगशाला सञ्चालन गरिएको छ भने कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकका छोराछोरी पनि सोही विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यसले अभिभावकको विश्वास जित्न सहयोग पुगेको यादवले बताए ।

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुल पनि उत्कृष्ट विद्यालयका रूपमा स्थापित छ । त्यहाँ अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्छन् । विद्यालय परिसरमा हरियाली बगैँचा निर्माण गरिएको छ भने तरकारी र दूध उत्पादनसमेत विद्यालय आफैँले गर्दै आएको छ ।

विद्यालयका कक्षाकोठा, शौचालय तथा भान्सामा वातावरणीय दिगोपनालाई ध्यान दिइएको छ । विद्यालय हाताभित्र प्लास्टिकको प्रयोगमा रोक लगाउनुका साथै वातावरण सफा र स्वच्छ राख्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

आवासीय सुविधासहित सञ्चालित उक्त विद्यालयमा हाल ४५० जना विपन्न बालबालिकालाई शैक्षिक तथा वातावरणीय शिक्षा प्रदान गरिँदै आएको छ ।