मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

18 Shares

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको थियो। त्यसका लागि शुक्रबार दिउँसो ४ बजेसम्मको समयसीमा तोकिएको थियो।

तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। अब नवनियुक्त मुख्यमन्त्री यादवले संविधानले तोकेको समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि यादव नेतृत्वको सरकारले औपचारिक रूपमा प्रदेशको कार्यकारी जिम्मेवारी सम्हाल्नेछ।