काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतङ्क, आगजनी र तोडफोडबाट भएको आरोप लगाएका हुन् ।
उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघठन गरेको आरोप पनि लगाए ।
प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उनको भनाई छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनको भनाई छ ।
उनले भने, ‘अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतङ्कपूर्ण, आगजनी, तोडफोड त्यसबाट सुरु भएको हो । यो भन्दा अघिल्लो प्रधानमन्त्री संविधान मिचेर आफैँ प्रधानन्यायाधीश भएर पनि संविधान मिचेर प्रधानमन्त्री कसले लगेर कुर्सीमा राख्यो थाहा नपाइकन प्रधानमन्त्री भएर मनपरी तन्त्र चलाएर उहाँले पहिलो काम गरेको के भन्दा व्यक्तिगत तवरमा एउटा असंवैधानिक प्रधानमन्त्रीले व्यक्तिगत तवरमा संसद विघटनको सिफारिस गरेर । र डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ, भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्नुभयो । त्यो सही कुरा हो, साँचो कुरा हो । र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि असंवैधानिक ढङ्गले संसद विघटन गरेर लोकतन्त्र जोगिन्छ ? मैले भन्ने गरेको छु, सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठीक छ, हराउनुस् । हराउनुस् ठीक छ, अन्याय गर्नुस् ठीक छ तर फैसला त गर्नुस् । फैसला नगरिकन उहाँहरू चुप लागेर बस्नुभयो । चुप लागेर बस्नुभयो । उहाँहरूको अपमान गरेको होइन, उहाँहरूप्रति अत्यन्त सम्मानका साथ म भन्छु तर ब्रह्मले देखेको फैसला भन्छन् नि, उहाँहरूको मनले असंवैधानिक ढङ्गले विघटन गर्नु ठीकै छ भन्ने लाग्थ्यो भने त्यही भन्दिए, भइहाल्थ्यो नि । तर उहाँहरूले फैसला नै नगरेर बस्नुभयो । त्यस्तो गर्नु हुँदैनथ्यो । अहिले पनि मुद्दा छँदै छ । अर्थात् देश संबैधानिक ढङ्गले चलेन, लोकतान्त्रिक विधिबाट चलेन, लोकतान्त्रिक संस्थाहरू कमजोर पारिए, विघटन गरिए, समाप्त पारिए र यसमा राज्यको कुनै निकायले प्रतिवाद गरेन । अचम्म लाग्छ ।’
लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको उनको आरोप छ । उनले हाल लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताए ।
राज्यका निकायहरू आदेशको भरमा नभई कानूनअनुसार चल्नुपर्ने उनको भनाई छ । देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नको लागी दबाब दिन युवाहरू संगठित हुनुपर्ने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया