चारसय त्रिचालीस किलो गाँजासहित दुई भारतीय पक्राउ

18 Shares

चितवन । प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनरमा लुकाएर ल्याइएको ठूलो परिमाणको गाँजासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, ग्राम चरबाजेका २४ वर्षीय सत्यम कुमार र बाबन घाटका २० वर्षीय रोहन कुमार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उनीहरूलाई बिहीबार राप्ती नगरपालिका–१, लोथरबाट पक्राउ गरिएको हो।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। कन्टेनरको अगाडिको भागमा चालक बस्ने सिटपछाडि रहेको क्याबिनमा फल्स बटम अर्थात् गोप्य ठाउँ बनाएर गाँजा लुकाइएको अवस्थामा फेला परेको हो।

प्रहरीले उक्त गोप्य स्थानबाट ४४३ किलो गाँजा बरामद गरेको जनाएको छ। गाँजा बरामद भएपछि कन्टेनरसहित चालक सत्यम कुमार र सहचालक रोहन कुमारलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभयो।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्नताबारे अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।