नेपालमा पहिलोपटक यू–२० फोर नेसन कबड्डी कप, उपाधि जित्ने लक्ष्यसहित नेपालको तयारी

19 Shares

काठमाडौं । नेपालमा पहिलोपटक यू–२० फोर नेसन अन्तर्राष्ट्रिय कबड्डी कप आयोजना हुने भएको छ ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डका जुनियर राष्ट्रिय टोली सहभागी हुनेछन् । प्रतियोगिता शनिवारदेखि ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलअघि दिउँसो १ बजेदेखि औपचारिक कार्यक्रम हुनेछ भने खेलहरू दिउँसो २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ । अखिल नेपाल कबड्डी संघकाअनुसार प्रतियोगिता आयोजना गर्न चार राष्ट्रबीच थाइल्याण्डको क्राबी शहरमा सहमति भएको थियो । शककुरुमा मलेसियासमेत सहभागी हुने तय भएपनि आन्तरिक कारणले अन्तिम समयमा सहभागी हुन नसकेको जनाइएको छ ।

आयोजकले फोर नेसन प्रतियोगितालाई निरन्तरता दिन प्रत्येक संस्करणमा एउटा अतिथि राष्ट्रलाई आमन्त्रण गर्ने निर्णय गरेको छ । यसपटक भारत सहभागी भएकोमा आगामी संस्करणमा इरान, चाइनिज ताइपेईलगायतका राष्ट्रलाई आमन्त्रण गर्न सकिने संघको भनाइ छ ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । नेपाली टोलीले प्रतियोगिताका लागि लामो समयदेखि जनकपुरमा प्रशिक्षण शिविर सञ्चालन गर्दै आएको छ । संघले कबड्डीले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार पदक दिलाउँदै आएको उल्लेख गर्दै जुनियर खेलाडीलाई प्रोत्साहन र भविष्यको राष्ट्रिय टोली तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएको छ ।

नेपालले एशियन गेम्समा कबड्डीबाट लगातार पदक हासिल गर्दै आएको छ । बङ्गबन्धु प्रतियोगितामा नेपाली पुरुष टोली दोस्रो भएको र जुनियर टोलीले इरानमा सम्पन्न प्रतियोगितामा १२ राष्ट्रमध्ये तेस्रो स्थान हासिल गरेको संघले जनाएको छ ।

आगामी एशियन गेम्समा भारत, इरान र चाइनिज ताइपेईजस्ता बलिया टोलीसँग फाइनल खेल्ने र स्वर्ण पदक जित्ने लक्ष्यसहित जुनियर तहबाटै खेलाडी तयार पार्न थालिएको संघको भनाइ छ । यसैबीच, अखिल नेपाल कबड्डी संघले आगामी जनवरीदेखि मार्चसम्म सातौँ महिला एसियन कबड्डी च्याम्पियनसिप पनि नेपालमै आयोजना गर्ने तयारी गरेको छ । उक्त प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय कबड्डी महासंघसँग आवश्यक प्रक्रिया अघि बढाइएको संघले जनाएको छ ।

संघले आगामी दिनमा महिला र पुरुष दुवै टोलीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पदक सम्भावना बलियो बनाउने लक्ष्य राखेको छ ।