काठमाडौं । सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पत्रकारको खोजी गर्दै प्रहरी कार्यालयमा पुग्ने घटनाको विरोधमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ।
महासंघले शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा ‘प्रेस स्वतन्त्रता जिन्दावाद, मिडियामाथिको दमन बन्द गर’ जस्ता नारासहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी पत्रकारहरूले समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमाथि प्रहरी हस्तक्षेप गर्ने कार्य तत्काल रोक्न माग गरेका थिए।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। त्यस्तै, मोटिभेट न्युजका सम्पादक शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेर संवाददाता नवराज मैनालीको खोजी गरेका थिए। अनामनगरस्थित दियो पोस्टको कार्यालयमा पनि प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गर्दै प्रहरी पुगेको थियो। उनीहरूलाई कार्यालयमा नभेटेपछि प्रहरी फर्किएको थियो।
प्रहरीले पत्रकारहरूलाई प्रकाशित समाचारका विषयमा सोधपुछ गर्न साइबर ब्युरोमा ल्याइएको जनाएको छ। तर, समाचारको विषयलाई लिएर समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र खोजी गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै पत्रकारिता क्षेत्रबाट विरोध भइरहेको छ।
प्रेस काउन्सिल नेपालले समेत घटनाप्रति आपत्ति जनाउँदै पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ। नेपाल पत्रकार महासंघले पनि समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्य रोक्न सरकारसँग आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया