काठमाडौँ । नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोका आधारमा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको स्पष्ट पारेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अबि नारायण काफ्लेले प्रहरीविरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निरन्तर प्रकाशित भइरहेका गलत समाचार र सन्देशका विषयमा प्रधानमन्त्री कार्यालयबाट चासो व्यक्त भएपछि साइबर ब्युरो सक्रिय भएको बताएका हुन् ।
उनका अनुसार त्यस्ता समाचार तथा सन्देशले प्रहरी संगठनको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरीबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो ।
सोही चासोलाई सम्बोधन गर्दै प्रकाशित सामग्रीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिन केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको काफ्लेको स्पष्टीकरण छ ।
उनले सञ्चारकर्मीलाई कार्यालयमा बोलाउने कार्य प्रहरीको नियमित कार्यसम्पादनअन्तर्गत सही मनसायले गरिएको दाबी गरेका छन् ।
प्रहरीको कदमलाई सुरक्षित समाज निर्माणका लागि आवश्यक सूचना र तथ्यको स्पष्टतासँग जोड्दै काफ्लेले यसलाई सकारात्मक रूपमा बुझ्न आग्रहसमेत गरेका छन् ।
साथै, राज्यको चौथो अंगका रूपमा रहेको प्रेसप्रति नेपाल प्रहरी सधैँ सकारात्मक रहेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
प्रहरीको यो स्पष्टीकरणसँगै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाउने प्रक्रियामा प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासो रहेको तथ्य सार्वजनिक भएको छ । यद्यपि, सञ्चारकर्मीलाई बोलाउने निर्णय र त्यसको कानुनी आधारबारे थप विवरण भने प्रहरीको भनाइमा खुलाइएको छैन ।
यस्तो छ नेपाल प्रहरीको वक्तव्यः
हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा निरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो । यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ ।
राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया