पत्रकार पक्राउप्रति रास्वपाको आपत्ति, बिनासर्त रिहा गर्न माग

11 Shares

काठमाडौँ । समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गर्दै घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

लोकतन्त्रमा सञ्चार जगत्‌को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै रास्वपाले कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने र सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने कार्य लोकतान्त्रिक आचरणविपरीत भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको प्राण र सौन्दर्य भनेकै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्थाहरू हुन्, जसमा नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगत्‌को भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ।’

प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाको भनाइ छ । पत्रकारिताको विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको व्यावसायिक अधिकार, दायित्व तथा पेसागत धर्म भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समाचारप्रति विमति, गुनासो वा कानुनी प्रश्न उठे त्यसको निरूपणका लागि राज्यले स्थापित गरेका विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायमार्फत अघि बढ्नुपर्ने रास्वपाले जनाएको छ ।

‘सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले पत्रकार पक्राउको घटनामा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।

‘कुनै पनि भय, त्रास र अनुचित दबाबका अगाडि नझुकी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारितालाई निरन्तरता दिन आह्वान गर्दै सम्पूर्ण सञ्चार जगत्‌प्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने र सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि रास्वपा सदैव अग्रमोर्चामा उभिने पनि विज्ञप्तिमा जनाइएको छ ।