विराटनगरमाथि कर्णालीको सनसनीपूर्ण जित, सोमपालको विस्फोटक ब्याटिङ

8 Shares

काठमाडौँ । कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार दोस्रो जित निकालेको छ ।

विशाल लक्ष्य पछ्याएको कर्णालीले बिहीवार विराटनगर किङ्समाथि चार विकेटको जित निकालेको हो । यो कर्णालीको लगातार दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई हराएको थियो । चितवन राइनोजसँग पराजित विराटनगरले दोस्रो खेलमा खराब बलिङ गरेपछि लगातार दोस्रो हार व्यहोरेको हो ।

त्रिवि क्रिकेट स्टेडियममा विराटनगरले १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कप्तान सोमपालको यादगार अलराउन्ड प्रदर्शनमा कर्णालीले एक बल बाँकी छँदै जित निकालेको हो । सोमपालले ब्याटिङमा ६२ रन बनाउँदै अविजित रहे भने बलिङमा चार विकेट लिए ।

६.५ ओभरमा ५७ रन बनाउँदा पाँच विकेट गुमाएर नाजुक अवस्थामा पुगेको कर्णालीलाई सोमपालले अप्रत्याशित जित दिलाएका हुन् । यस क्रममा उनले छैटौँ विकेटका लागि पवन सर्राफसँग ६६ रन र सातौँ विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे ।

सोमपालले ३२ बलमा ६२ रनको इनिङ खेले । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । पवनले ३६ र गुल्सनले २८ रन बनाए ।

इनिङको पहिलो बलदेखि नै कर्णालीले आक्रामक शैली अपनायो । तथापि, दोस्रो ओभरमा ओपनर मार्क वाट एक रनमै बोल्ड भए । तेस्रो ओभरदेखि कर्णालीले आक्रामक ब्याटिङ गर्‍यो । प्रतिश जिसीको ओभरमा अरिफुल इस्लामले २२ रन जोडे । उनले तीन छक्का र एक चौका प्रहार गरे ।

चौथो ओभरमा बलिङ गर्न आएका एन्जेलो म्याथ्युजले खेलको दिशा बदले । उनले यही ओभरमा अरिफुललाई ३२ रनमा आउट गर्दै महत्त्वपूर्ण सफलता दिलाए । अरिफुलले १२ बलमा तीन छक्का र तीन चौका प्रहार गरे ।

त्यसपछि पाँचौँ, छैटौँ र सातौँ ओभरमा कर्णालीले लगातार एक–एक विकेट गुमायो । पाँचौँ ओभरमा हुसेन तलत खाता नखोल्दै पभेलियन फर्किए । स्पिनर चरिथ असलंकाले हुसेनलाई बोल्ड गरे ।

अर्को ओभरमा एन्जेलोले दीपक डुम्रेलाई २० रनमा बोल्ड गरे । दीपकले १९ बलमा एक चौका र एक छक्का प्रहार गरे । कप्तान सन्दीप लामिछानेले बंगलादेशी ब्याटर अक्बर अलीलाई एक रनमै बोल्ड गरे । यससँगै कर्णाली ६.५ ओभरमा ५७ रन बनाउँदा पाँच विकेट गुमाएको अवस्थामा पुगेको थियो ।

छैटौँ विकेटका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ६६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । १४औँ ओभरमा प्रतिशले पवनलाई ३६ रनमा बाउन्ड्री लाइनमा क्याच गराए । पवनले २८ बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

तर, अर्को छेउबाट कप्तान सोमपालले आक्रामक ब्याटिङ जारी राखे । सातौँ विकेटका लागि उनले गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

विराटनगरको बलिङमा एन्जेलोले तीन विकेट लिए भने कप्तान सन्दीप, प्रतिश र असलंकाले समान एक विकेट लिए । खराब बलिङसँगै फिल्डिङमा पनि चुकेपछि विराटनगरले लगातार दोस्रो हार व्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुआत राम्रो गर्न सकेन । तर, लोकेश बमको आक्रामक इनिङको मद्दतमा विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनायो ।

तेस्रो ओभरमै ओपनर इमरान शेख पाँच रनमा आउट भए । स्पिनर मार्क वाटले उनलाई दीपक डुम्रेमार्फत क्याच गराए । एक छेउबाट ओपनर लोकेशले इनिङ अघि बढाए पनि अर्को छेउबाट विकेट पतन भइरह्यो ।

चरिथ असलंका तीन रनमै पभेलियन फर्किए । उनलाई कर्णालीका कप्तान सोमपालले गुल्सन झामार्फत क्याच गराएका हुन् । त्यसअघि सोमपालकै बलिङमा लोकेशले नन्दन यादवबाट जीवनदान पाएका थिए । लोकेशले त्यसको फाइदा उठाए । पावर प्लेमा विराटनगरले ४१ रन जोड्दै सुरुआत गरेको थियो ।

तेस्रो विकेटका लागि लोकेश र शेहान जयसूर्याबीच ३४ रनको साझेदारी भयो । दुई रन लिने क्रममा जयसूर्या ११ रनमा रनआउट भए ।

८.६ ओभरमा विराटनगर ७३ रन बनाउँदा तीन विकेट गुमाएको अवस्थामा थियो । त्यसपछि लोकेशले लगातार ठूला सट खेल्दै विशाल योगफलको आधार तयार पारे । चौथो विकेटका लागि लोकेश र श्रीलंकाका एन्जेलो म्याथ्युजबीचको ७१ रनको साझेदारी महत्त्वपूर्ण रह्यो ।

१६औँ ओभरमा लोकेश सोमपालकै बलमा कट एन्ड बोल्ड भए । उनले ५२ बलमा ८७ रन बनाए । यस क्रममा उनले तीन चौका र नौ छक्का प्रहार गरे । १५.५ ओभरमा विराटनगर १४४ रन बनाउँदा चार विकेट गुमाएको अवस्थामा थियो ।

त्यसपछि आएका वेस्ट इन्डिजका आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गरे । तर, अर्को छेउबाट एन्जेलो आउट भए । सोमपालले म्याथ्युजलाई ३१ रनमा बोल्ड गरे । म्याथ्युजले २३ बलमा चार चौका प्रहार गरेका थिए ।

रसेलले १५ बलमा २७ रनको आक्रामक इनिङ खेले । १८औँ ओभरमा सोमपालले रसेललाई युनिस सिंह ठकुरीमार्फत क्याच गराए । रसेलको इनिङमा तीन चौका र दुई छक्का समावेश थियो ।

इनिङको अन्तिम बलमा आउट भएका बसिर अहमदले सात बलमा १३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । अन्तिम १० ओभरमा १०६ रन जोडेपछि विराटनगरले चुनौतीपूर्ण योगफल बनाएको हो ।

कर्णालीको बलिङमा सोमपालले चार विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए । मार्क वाटले चार ओभरमा एक मेडन राख्दै २३ रन खर्चिए । अन्य बलर भने महँगा साबित भए ।

शुक्रवार कुनै पनि खेल हुने छैन । शनिवार दुई खेल हुनेछन् ।