कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

10 Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ८८७ पुगेको छ ।

पछिल्लो प्रकोप सुरु भएयता सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सार्वजनिक गरिएको राष्ट्रिय स्वास्थ्य अधिकारीहरूको प्रतिवेदनअनुसार अक्टोबर २५ सम्म कङ्गोमा इबोलाका १० हजार ६० जना सङ्क्रमित पुष्टि भएका छन् ।

सङ्क्रमितमध्ये ४ हजार ८८७ जनाको मृत्यु भएको छ । यसअनुसार सङ्क्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको दर ४८.६ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार कङ्गोका २६ मध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ । पूर्वी इटुरी प्रान्त सङ्क्रमणको मुख्य केन्द्र बनेको छ । त्यहाँ देशभर पुष्टि भएका कुल सङ्क्रमितमध्ये ७१.७ प्रतिशत रहेका छन् ।

कङ्गोमा मे १५ मा बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण पछिल्लो प्रकोप घोषणा गरिएको थियो । त्यसयता यो सङ्क्रमण अफ्रिकाका युगान्डा, केन्या र नाइजेरियासहित अन्य चार देशमा फैलिएको छ । फ्रान्समा पनि विदेशबाट भित्रिएको एक सङ्क्रमण पुष्टि भएको छ । इबोला भाइरसको बढी प्रचलित जाइरे प्रजातिको तुलनामा बुन्डिबुग्यो प्रजातिविरुद्ध हालसम्म स्वीकृत खोप उपलब्ध छैन । यस प्रजातिका लागि विशेष उपचारसमेत उपलब्ध नरहेको प्रतिवेदनमा उल्लेख छ ।

कङ्गोमा फैलिएको पछिल्लो इबोला प्रकोप त्यहाँ अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ ।