१७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटमा धर्ना, न्याय नपाएको स्थानीयको गुनासो

32 Shares

काठमाडौँ । तिलगंगा क्षेत्र (ब्लक बी–१३) का स्थानीयले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरूमाथि अन्याय भएको भन्दै १७८ दिनदेखि कोषको मुख्य गेटअगाडि धर्ना दिँदै आएका छन् ।

गत वैशाख १८ र १९ गते सरकारले वागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका घरटहरा पनि भत्काएको थियो । त्यसयता गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्ना दिँदै आएका स्थानीयले आफूहरू सुकुम्बासी नभई लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा कर तिरेका कागजातसहित बसोबास गरिरहेका नागरिक भएको दाबी गरेका छन् ।

स्थानीय सुदर्शन गौतमले सरकारले आफूहरूमाथि अन्याय गरेको आरोप लगाउँदै विस्थापित परिवारको पुनर्वास गराउन वा उनीहरूको जग्गा फिर्ता गर्न माग गरेका छन् ।

उनका अनुसार पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा पाँचवटा बस्तीलाई स्थानान्तरण गरी गोठाटार–मूलपानी क्षेत्रमा पुनर्वास गराउने गरी स्थानीयसँग सम्झौता भएको थियो । चारवटा बस्ती स्थानान्तरण भए पनि तिलगंगा क्षेत्रका प्रभावित परिवारलाई भने न्याय नगरिएको उनको गुनासो छ ।

गौतमले प्रभावित परिवारले स्थानान्तरणको विकल्प स्वीकार गरे पनि सरकारले त्यसअनुसार व्यवस्था नगरेको बताए । गुरुयोजना कार्यान्वयन गर्ने भए आफूहरूलाई गोठाटार क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने र त्यसो नगर्ने भए बस्दै आएको जग्गा फिर्ता गर्नुपर्ने उनको माग छ ।

‘यदि हामी गलत हौँ भने फाँसीको सजाय दिइयोस्, तर यदि हामी साँचो छौँ भने हामीले न्याय किन नपाउने ? हाम्रो जग्गा लिइसकेपछि कि हामीलाई अर्को जग्गा दिनुपर्‍यो, कि हामीलाई हाम्रै जग्गा फिर्ता गर्नुपर्‍यो,’ गौतमले भने ।

उनका अनुसार स्थानीयको सम्पत्ति २०५३ सालदेखि रोक्का रहेको छ । जग्गाको लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र र कर तिरेका कागजात हुँदाहुँदै पनि सम्पत्ति रोक्का राखिएको तथा घरटहरा भत्काइएपछि परिवारहरू थप समस्यामा परेको उनले बताए ।

गौतमले प्रभावित परिवारसँग जग्गासम्बन्धी कागजात, वडा कार्यालयको प्रतिवेदन, महान्यायाधिवक्ताको राय तथा पशुपति क्षेत्र विकास कोषसम्बन्धी कानुनी व्यवस्थालगायतका आधार रहेको दाबी गर्दै ती कागजातका आधारमा समस्याको समाधान गर्न सरकारसँग माग गरे ।

‘यो युनेस्को क्षेत्रभित्रको बस्ती हो । युनेस्को क्षेत्रभित्रको बस्तीलाई बिना कसैलाई जानकारी नगइकन अन्धधुन्ध हिसावले छुट्टीको दिन बुद्धपूर्णिमामा छुट्टीको दिन पारेर ध्वस्त पारियो । ध्वस्त पार्नको लागि उहाँहरूले २ मिनेटको डिसिजनमा गर्ने, अब न्याय दिन ६ महिना कुर्दा पनि नदिने ?’ उनले प्रश्न गरे ।

गौतमले प्रभावित परिवारले शान्तिपूर्ण रूपमा धर्ना दिँदै न्यायको प्रतीक्षा गरिरहेको बताए । सम्बन्धित निकायले सुनुवाइ नगरे थप आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ ।

उनले भने, ‘यदि यो निर्णय गलत थियो, यो अधिग्रहण गलत थियो भने हामीलाई पुनर्वास गर्नुहोस्, हामीलाई त्यसमा केही प्रब्लम छैन । हामीले सुन दिएर पित्तल साट्न खोजेको हो, सुनै फिर्ता दिनुस्, हामीलाई त्यसैमा फाइदा छ ।’

गौतमका अनुसार प्रभावित पक्षले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको छलफलमा आवश्यक कागजात र सम्झौतासम्बन्धी प्रमाण पुनः बुझाएको छ । मन्त्रीले घटनाबारे पर्याप्त जानकारी नपाई घर भत्काएको विषयमा सम्बन्धित निकायसँग कागजात मागिएको जानकारी दिएको उनले बताए ।

स्थानीयका अनुसार उनीहरूको समस्या काठमाडौं महानगरपालिकाको नगरसभामा समेत उठाइएको छ । सम्बन्धित क्षेत्रका सांसदले पनि संसद्मा प्रभावित नागरिकलाई न्याय दिनुपर्ने विषय उठाएको गौतमको भनाइ छ ।

प्रधानमन्त्री कार्यालय र ‘हेलो सरकार’मा समेत निवेदन दिँदा ठोस निर्णय नआएको उनले बताए । पशुपति क्षेत्र विकास कोषबाट समेत सुनुवाइ नभएको भन्दै प्रभावित पक्षले ‘हेलो सरकार’मा चार–पाँचवटा निवेदन दिएको उनको भनाइ छ ।

स्थानीयले आफूहरूले अतिरिक्त सुविधा नभई पहिले भएका निर्णयको कार्यान्वयन र न्यायोचित पुनर्वास मात्रै मागेको बताएका छन् । घरटहरा भत्काउनुअघि र पछि अपनाइएका प्रक्रिया तथा सम्पत्तिको अधिकारसम्बन्धी प्रश्नमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग छ ।

लामो समयसम्म माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएका प्रभावित स्थानीयले शान्तिपूर्ण धर्नाबाट सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।