करोडौँ खर्चिएर बनेको धर्मशाला बेवारिसे, तीर्थयात्रीलाई सेवा दिनुपर्ने भवन खण्डहर बन्दै

50 Shares

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सुविधाका लागि निर्माण गरिएको धर्मशाला प्रयोगविहीन बनेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, रानीपौवामा भारतीय दूतावासको सहयोगमा करिब डेढ दशकअघि निर्माण गरिएको धर्मशाला सञ्चालन र संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

धर्मशाला निर्माणको मुख्य उद्देश्य मुक्तिनाथ दर्शनका लागि आउने तीर्थयात्रीलाई बसोबासको सुविधा उपलब्ध गराउनु थियो । तर, सुरुमा केही समय सञ्चालनमा आएपछि व्यवस्थापनको जिम्मेवारी लिएका सञ्चालकले छाडेपछि भवन लामो समयदेखि उपयोगमा आउन सकेको छैन ।

यसले धार्मिक पर्यटनका लागि निर्माण गरिएका पूर्वाधारको दिगोपन र व्यवस्थापनमाथि प्रश्न उठाएको छ । मुक्तिनाथ क्षेत्रमा स्वदेशी तथा विदेशी तीर्थयात्रीको आवागमन हुने गरे पनि आवश्यक पूर्वाधारको उचित उपयोग हुन नसक्दा निर्माणको उद्देश्य पूरा हुन सकेको छैन ।

धर्मशाला सञ्चालनमा ल्याउन सके तीर्थयात्रीलाई आवासको सुविधा दिनुका साथै स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्न सक्छ । सार्वजनिक हितका लागि निर्माण गरिएका संरचना लामो समयसम्म प्रयोगविहीन रहनुले सम्बन्धित निकायको व्यवस्थापकीय जिम्मेवारीमाथि ध्यानाकर्षण गराएको छ । धर्मशालाको अवस्था सुधार गरी पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल गर्नुपर्ने देखिएको छ ।