भूकम्प र कोभिडयताकै कमजोर अवस्थामा नेपाली उद्योगको सञ्चालन क्षमता

95 Shares

नेपाली उद्योगको सञ्चालन क्षमता भूकम्प र कोभिड–१९ महामारीपछिकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले उत्पादनमूलक उद्योगको गतिविधि सुस्त बनेको र उपलब्ध उत्पादन क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको देखाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो दर ४२.९४ प्रतिशत थियो । उद्योगहरूको उत्पादन क्षमता कमजोर हुनुमा बजार मागमा आएको कमी, उत्पादन लागतमा वृद्धि, कच्चा पदार्थको आपूर्तिमा समस्या र दक्ष जनशक्तिको अभावजस्ता कारण देखिएका छन्।

सडक तथा ढुवानी पूर्वाधारको कठिनाइ, युवाको वैदेशिक पलायन र सरकारी पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्दा पनि औद्योगिक गतिविधिमा असर परेको छ । बजारमा स्वदेशी उत्पादनको माग पर्याप्त नहुँदा उद्योगहरूले आफ्नो पूर्ण क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

उद्योगको सञ्चालन क्षमता घट्दा उत्पादन र रोजगारी विस्तारमा समेत चुनौती थपिएको छ । नयाँ लगानी तथा उद्योग विस्तारका लागि अनुकूल वातावरण निर्माण हुन नसक्दा निजी क्षेत्रको लगानी प्रभावित हुने जोखिम छ । औद्योगिक उत्पादन कमजोर रहँदा स्वदेशी वस्तुको आपूर्ति र आयात प्रतिस्थापनको प्रयासमा समेत असर पर्न सक्छ ।

स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन दक्ष जनशक्तिको उपलब्धता, कच्चा पदार्थको सहज आपूर्ति र सरकारी खर्चको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने देखिन्छ । उद्योगको उत्पादन क्षमता उपयोगमा सुधार ल्याउन नसके आर्थिक गतिविधि र रोजगारी विस्तारमा चुनौती कायम रहनेछ ।