दसैँको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकामा आवतजावत गर्ने यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सार्वजनिक यातायातको उपलब्धता कम हुने समयमा सर्वसाधारणलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकबाट सञ्चालन हुने बसले उपत्य
काका विभिन्न प्रमुख सडक र यात्रुको चाप हुने क्षेत्र समेट्नेछन् । बस सेवा बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र सीतापाइलालगायतका क्षेत्रसँग जोडिएको छ । यो सेवा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने र दुईवटा बस परिचालन गरिने जानकारी सार्वजनिक गरिएको छ । यात्रुले तोकिएका मार्गमा निःशुल्क यात्रा गर्न सक्नेछन् ।
चाडपर्वका बेला यातायातको चाप र सवारीसाधनको अभावले यात्रामा समस्या हुन सक्ने भएकाले सशस्त्र प्रहरीले थालेको यो पहलले सर्वसाधारणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । यात्रामा निस्कनुअघि बसको रुट र सञ्चालन समयबारे सम्बन्धित निकायबाट जानकारी लिनु उपयुक्त हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया