चाडपर्वमा रगतको अभाव छैन, नेगेटिभ समूहको रगत व्यवस्थापनमा समस्या

18 Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक उपचारका लागि आवश्यक पर्ने रगतको अभाव नरहेको जनाएको छ । केन्द्रले सडक दुर्घटनाका घाइते, प्रसूति सेवा लिने महिला तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि आवश्यक रगतको व्यवस्था गरिएको जनाएको हो ।

सोमबार न्युज एजेन्सीसँग कुरा गर्दै केन्द्रका प्रतिनिधि सञ्जीव यादवले चाडपर्वमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै विभिन्न स्थानमा रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गरिएको बताए ।

उनका अनुसार दशैँका समयमा नियमित स्वास्थ्य सेवाहरू प्रभावित हुन सक्ने भए पनि आकस्मिक उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन केन्द्रले तयारी गरेको छ । सम्भावित दुर्घटना तथा अन्य आकस्मिक अवस्थालाई ध्यानमा राख्दै रगतको मौज्दात व्यवस्थापन गर्नुका साथै आवश्यक परे तत्काल रक्तदान गर्न सक्ने गरी नियमित रक्तदातासँग पनि समन्वय गरिएको उनले बताए ।

‘रगतको उपलब्धता आजको मितिमा हामीसँग सहज छ । चाडपर्वमा रगतको अभाव नहोस् भनेर हामीले निरन्तर रक्तदान शिविर सञ्चालन गर्‍यौँ । ती शिविरबाट संकलित रगत बडादशैँमा समस्या नहोस् भनेर राखेका छौँ,’ यादवले भने ।

उनका अनुसार सडक दुर्घटना, प्रसूति सेवा र नियमित डायलासिस गराइरहेका बिरामीलाई आकस्मिक अवस्थामा रगतको अत्यधिक आवश्यकता पर्न सक्छ । यस्तो अवस्थालाई सम्बोधन गर्न केन्द्रले आवश्यक तयारी गरेको र रक्तदाताहरूलाई समेत तयारी अवस्थामा राखेको उनले बताए ।

यद्यपि, नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुने यादवले स्वीकार गरे । केन्द्रले नेगेटिभ समूहको रगत संकलन गरेर नराख्ने भएकाले मागअनुसार तत्काल उपलब्ध गराउन समस्या हुन सक्ने उनको भनाइ छ ।

‘हामीसँग अहिले रगतको अभाव छैन । तर नेगेटिभ ग्रुपको रगतको डिमान्ड आयो भने सकस पर्छ । हामीले नेगेटिभ समूहको मान्छेको रगत लिँदैनौँ । यसमा अलि समस्या हुन्छ,’ उनले भने ।

यादवले आकस्मिक अवस्थामा रगतको माग बढेमा त्यसलाई सम्बोधन गर्न नियमित रक्तदातासँग सम्पर्क र समन्वय गरिएको जानकारी दिए । आवश्यक परे सेना तथा प्रहरीका जवानसँग पनि समन्वय गरिएको उनले बताए ।

चाडपर्वमा सेवा प्रवाह प्रभावित नहोस् भनेर केन्द्रले आवश्यक जनशक्तिको व्यवस्थापनसमेत गरेको छ । विभिन्न विभागमा आवश्यक पर्ने कर्मचारीको संख्याका आधारमा नियमित कार्यतालिका (रोस्टर) बनाएर सेवा सञ्चालन भइरहेको यादवले बताए ।

हाल रगतको अभाव नरहे पनि आकस्मिक आवश्यकता जुनसुकै समयमा उत्पन्न हुन सक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । उनले रगतको सहज उपलब्धताका लागि इच्छुक नागरिकलाई रक्तदान गर्नसमेत आग्रह गरेका छन् ।